धनुषामा लागूऔषध सहित फार्मेसी सञ्चालक पक्राउ
जनकपुर : धनुषाको ढल्केबरस्थित एक औषधि पसलबाट ठूलो परिमाणमा लागूऔषध सहित सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले मिथिला नगरपालिका–७ का ५० वर्षीय रामकुमार महतोलाई उनकै फार्मेसीबाट नियन्त्रणमा लिएको हो।
महतोले सञ्चालन गर्दै आएको फार्मेसीबाट टापेन्टा ट्याब्लेट ४६० पत्ताा, स्पासरेस्ट ९५ पत्ता र डोवेल ६० पत्तासहित नगद १ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको छ।
मिथिला नगरपालिका–१० राताेपुलस्थित लालगढबाट बर्दिवासतर्फ पैदल जाँदै गरेका तीन जना संकास्पद युवालाई जाँच गर्दा उनीहरूको साथबाट टापेन्टा लागूऔषध फेला परेको थियो। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–५ सिर्थौलीका २० वर्षीय साजन परियार, २१ वर्षीय दोर्जे लामा र २० वर्षीय दीपेश साह रहेका छन्।
उक्त घटनामा थप अनुसन्धान गर्दै जाँदा लागूऔषध कारोबारमा निको फार्मेसीको संलग्नता खुलेपछि प्रहरीले छापा हानेर लागूऔषधसहित सञ्चालक महतोलाई पक्राउ गरेको हो।
धनुषा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
चैत १८, २०८२ बुधबार १४:५३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।