हेटौँडाको गुम्बाचोकमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

हेटौँडाको गुम्बाचोकमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक विद्यार्थीको मृत्यु, दुई जना घाइते

मकवानपुर : पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ गुम्बाचोकमा आज दुईवटा मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४४प ९३५४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

ठोक्किएका दुवै मोटरसाइकल अनियन्त्रित भई नवलपरासीबाट सिमेन्ट लोड गरी वीरगन्जतर्फ जाँदै गरेको ना६ख ३१४५ नम्बरको ट्रकमा ठोक्किन पुगेका थिए।

सोही क्रममा प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकलमा पछाडि सवार १९ वर्षीया एकता वैद्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीले जानकारी दिए। उनी हेटौँडा स्कुल अफ म्यानेजमेन्टमा अध्ययनरत थिइन्। गम्भीर घाइते वैद्यलाई हेटौँडा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही दुर्घटनामा परी प्र३–०२–००७प ७६८३ नम्बरको मोटरसाइकल चालक हेटौँटा उपमहानगरपालिका–४ कर्राका १९ वर्षीय रोनिक कार्की र ना४४प ९३५४ नम्बरको मोटरसाइक चालक चितवनको इच्छाकामना गाउँपालिका–५ बदेलटारका २१ वर्षीय पुष्पालाल गुरुङ घाइते भएका छन्। उनीहरूको हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

दुवै मोटरसाइकल र ट्रक तथा ट्रकचालक बाँकेको कोहलपुर नगरपालिका–१४ का ३३ वर्षीय बद्री गडरियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चैत १८, २०८२ बुधबार १४:२९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।