संरक्षण अभावमा सिरहाको देवीदह संकटमा: चराहरूको बासस्थान नासिँदै, बजेट कागजमै सीमित
सिरहा : सिरहाको लहान नगरपालिका–१७ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र देवीदहमा चराहरूको बासस्थान सङ्कटमा पर्न थालेको छ। उचित संरक्षणको अभाव, मिचाहा प्रजातिका झारको प्रकोप र बढ्दो चोरीसिकारका कारण यहाँका रैथाने तथा आगन्तुक जलपन्छीहरूको अस्तित्व जोखिममा परेको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान बजारबाट छ किलोमिटर उत्तर चुरेको फेदमा अवस्थित यो सिमसार क्षेत्रलाई चराहरूको उचित बासस्थान मानिन्छ। तर, पछिल्लो समय यहाँ चराको चोरीसिकार बढ्नुका साथै मिचाहा प्रजातिका झार बढ्नु, संरक्षण नहुनुलगायत कारणले बासस्थान साँघुरिँदै गएको देवीदह वन उपभोक्ता समूह तथा संरक्षण समितिका अध्यक्ष कपिलेश्वर यादवले बताए।
उनले भने, “चराको सिकार र बासस्थानको विनास अहिलेको मुख्य चुनौती हो। बजेट अभावले गर्दा हामीले पोखरीको संरक्षण गर्न सकेका छैनौँ। बनेका भौतिक संरचना पनि मर्मत गर्न सकिएको छैन।” यसअघि चराविद् ल्याएर अध्ययन गराउने पहल गरिरहेको जनाउँदै उनले त्यसपश्चात् पनि उल्लेख्य प्रगति हुन नसकेको बताए।
यस तालमा साइबेरियाबाट करिब १३-१४ हजार किलोमिटरको लामो यात्रा तय गरेर आएका आगन्तुक चरा र स्थानीय सिली तथा पानीहाँस प्रजातिका जलपन्छीको चहलपहल बढेको समितिका अध्यक्ष यादवले जानकारी दिए। बासस्थानको संरक्षण गर्दै प्रचारप्रसार गर्न सके पर्यटन प्रवर्द्धन हुनुका साथै स्थानीयको आयस्तर बढ्ने उनको भनाइ छ।
चराहरूलाई निर्वाध रूपमा आउनेजाने र रमाउने वातावरण मिलाउन समुदायस्तरमा सचेतना बढाउनुपर्ने स्थानीय पूर्वप्रधानाध्यापक नेपाली साहले बताए। उनले भने, “पहिले लहानको मानिक दहसहितका विभिन्न तालतलैयामा चराको प्रभावकारी र उल्लेख्य बासस्थान थियो, तर ती क्रमशः मासिँदै गएका छन्। अहिले चराको आश्रयस्थल देवीदहमा मात्र सीमित भएको छ।”
पूर्वप्रधानाध्यापक साहले चराको संरक्षणका लागि स्थानीय तहले भ्यूटावर निर्माण गरिदिनुपर्ने सुझाव दिए। उनले भने, “यदि मानिसले सुरक्षित रूपमा नजिकबाट चरा हेर्ने वातावरण पाए भने उनीहरूमा चराप्रतिको स्नेह र अपनत्व बढ्छ, जसले अन्ततः संरक्षण अभियानमा ठूलो मद्दत पुर्याउनेछ।”
धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस दहको संरक्षणका लागि आएका ठूला आयोजना कागजमा सीमित भएका लहान–१७ का वडाध्यक्ष प्रथमलाल चौधरीले बताए। उनका अनुसार विगतमा बजेट विनियोजन भए पनि कार्यान्वयनको अभावले देवीदह ओझेलमा परेको हो।
वडाध्यक्ष चौधरीले भने, “नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले आफ्नो कार्यकालमा यस क्षेत्रमा भ्रमण गरेका थिए। त्यसपछि पोखरीको संरक्षणका लागि ‘राष्ट्रपति चुरे विकास कार्यक्रम’ अन्तर्गत एक करोड ५९ लाख बजेट विनियोजन गरिएको थियो।
विसं २०७७ मा नेपाल पर्यटन बोर्डसँग पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि पाँच करोड २२ लाखको महत्वाकाङ्क्षी योजना सम्झौता भएको थियो। तर, यी योजना कार्यान्वयन हुनसकेका छैनन्। सोही कारणले नयाँ पूर्वाधार बन्नुको साटो भएका पुराना संरचनासमेत अहिले जीर्ण र अधुरै अवस्थामा छन्।”
चालु आर्थिक वर्षमा मधेस प्रदेश सरकारबाट पोखरी सौन्दर्यकरणका लागि २५ लाख विनियोजन भएको वडाध्यक्ष चौधरीले जानकारी दिए।
दहको धार्मिक गरिमालाई जोगाउन र प्रचारप्रसार गर्न लागिपरेको उल्लेख गर्दै उनले भने, “देवीदहको धार्मिक महत्वलाई उजागर गर्न हामीले यही चैत १९ गतेदेखि विष्णु महायज्ञको तयारी गरेका छौँ। यसले देवीदहको प्रचारप्रसार र संरक्षणमा ठोस सहयोग पुग्ने विश्वास लिएका छौँ।”
चैत १८, २०८२ बुधबार १४:१४:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।