इराकमा अमेरिकी महिला पत्रकारको अपहरण
एजेन्सी : इराकको राजधानी बग्दादमा एक अमेरिकी महिला पत्रकारको अपहरण भएको छ।
इराकी र अमेरिकी अधिकारीहरूका अनुसार अपहरणमा संलग्न सन्दिग्धहरूमध्ये एक जनाको सम्बन्ध इरान समर्थित लडाकु समूहसँग रहेको छ।
‘अल-मोनिटर’ नामक समाचार वेबसाइटले जनाएअनुसार मंगलबार साँझ अमेरिकी स्वतन्त्र (फ्रीलान्स) पत्रकार शैली किटलसनको अपहरण भएको हो।
इराकको गृह मन्त्रालयले सुरक्षाकर्मीहरूले अपहरणकारीहरूको पिछा गरेको जनाएको छ। भाग्ने क्रममा अपहरणकारीहरूको गाडी पल्टिएको थियो, जसपछि एक जना सन्दिग्धलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ।
अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले पक्राउ परेका व्यक्तिको सम्बन्ध इरान समर्थित लडाकु समूह ‘कताइब हिजबुल्लाह’सँग रहेको जानकारी दिएका छन्।
अमेरिकी विदेश मन्त्रालयका सहायक विदेशमन्त्री डिलन जोनसनले पत्रकारको अपहरण भएको पुष्टि गरेका छन्। यद्यपि, उनले अपहरित पत्रकारको नाम भने खुलाएका छैनन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘विदेश मन्त्रालयले ती पत्रकारलाई उनीमाथि रहेको सुरक्षा चुनौती र खतराका बारेमा पहिल्यै चेतावनी दिएको थियो। हामी उनको यथाशीघ्र रिहाइ सुनिश्चित गर्न एफबिआईसँग मिलेर काम गरिरहेका छौँ।’
यसैगरी, अमेरिकी विदेश मन्त्रालयले बीबीसीलाई दिएको प्रतिक्रियामा भनेको छ, ‘गोपनीयता र अन्य कारणहरूले गर्दा, यतिबेला हामीसँग सार्वजनिक गर्न मिल्ने थप जानकारी छैन।’
चैत १८, २०८२ बुधबार ११:३७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।