‘सुनका गहना र जग्गा दिन्छु’ भन्दै झड्केली छोरीलाई १५ वर्षको उमेरदेखि लगातार बलात्कार, रिटार्यड आर्मीविरुद्ध मुद्दा

‘सुनका गहना र जग्गा दिन्छु’ भन्दै झड्केली छोरीलाई १५ वर्षको उमेरदेखि लगातार बलात्कार, रिटार्यड आर्मीविरुद्ध मुद्दा
एआईबाट बनाइएको तस्बिर

काठमाडौं : सौतेनी बाबुबाट एक किशोरी १५ वर्षको उमेरदेखि निरन्तर बलात्कृत भएको घटना सार्वजनिक भएको छ।

जग्गा पास गरिदिने र सुनका गहना बनाइदिने प्रलोभन देखाएर आफ्नै झड्केली छोरीलाई निरन्तर बलात्कार गरेको आरोपमा नेपाली सेनाका एक अवकाशप्राप्त सैनिकविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका-३ स्थायी घर भई हाल काठमाडौंको गुह्येश्वरी बस्ने ५२ वर्षीय भिमबहादुर राईविरुद्ध हाडनातामा जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दायर गरेको हो।

अभियोगपत्रमा उल्लेखित पीडितको जाहेरीअनुसार, १६/१७ वर्षअघि पीडितकी आमा र जन्मदिने बाबुबीच सम्बन्धविच्छेद भएको थियो। त्यसपछि ज्यालामजदुरी गरेर छोरी हुर्काइरहेकी ती महिलाले करिब ८ वर्षअघि भिमबहादुर राईसँग दोस्रो विवाह गरेकी थिइन्।

राईले ‘तिम्री छोरीलाई राम्रोसँग पालनपोषण गर्छु’ भन्दै विश्वास दिलाएर उनीहरूलाई काठमाडौंको गुह्येश्वरीस्थित डेरामा सँगै राखेका थिए। तर, राई तिनै छोरीमाथि जाइलागे।

जाहेरीमा उल्लेख भएअनुसार, ३ वर्षअघि किशोरी १५ वर्षको हुँदादेखि नै राईले बलात्कार गर्दै आएका छन्। आमा कोठामा नभएको मौका पारी उनले किशोरीलाई ‘मेरो नाममा भएको जग्गा तिम्रो नाममा पास गरिदिन्छु, सुनका गहनाहरू बनाइदिन्छु’ भन्दै ललाइफकाई र विभिन्न प्रलोभनमा पारेर निरन्तर बलात्कार गर्दै आएका थिए।

अन्तिम घटना र पोल खुल्यो
अभियोगपत्रअनुसार पछिल्लो पटक राति करिब साढे १० बजे आमा कोठामा नभएको मौका छोपी राईले किशोरीमाथि हातपात गरेका थिए। किशोरीले रुँदै प्रतिकार गर्न खोज्दा राईले "मैले भनेको मानिनस् भने तँलाई र तेरो आमासमेतलाई मारिदिन्छु" भन्दै ज्यान मार्ने धम्की दिए। 

त्यसपछि किशोरीले लगाएको कपडासमेत च्यातेर, ओछ्यानमा लडाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। यो घटनापछि किशोरीले हिम्मत जुटाएर सम्पूर्ण कुरा आफ्नी आमालाई सुनाएपछि आमाछोरी नै प्रहरी कार्यालय पुगेर किटानी जाहेरी दिएका थिए।

को हुन् आरोपित राई?
प्रहरीको बयानमा आरोपित भिमबहादुर राईले आफू वि.सं. २०५२ सालमा नेपाली सेनामा भर्ना भई १६ वर्ष जागिर खाएर २०७० सालमा पेन्सन निस्किएको खुलाएका छन्। पेन्सनपछि उनी काठमाडौंका विभिन्न स्थानमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै आएका थिए।

प्रहरीसँगको बयानमा उनले पीडितकी आमासँग श्रीमान्-श्रीमतीकै रूपमा बस्दै आएको स्वीकार गरेका छन्। यद्यपि, उनले झड्केली छोरीलाई बलात्कार नगरेको दाबी गर्दै पछिल्लो पटक ‘सहमतिमै एकपटक शारीरिक सम्पर्क भएको’ गैरकानुनी बयान दिएका छन्।

कानुनतः आफ्नो संरक्षणमा रहेकी वा हाडनाता पर्ने (झड्केली छोरी) सँग सहमतिमै शारीरिक सम्पर्क भए पनि त्यसलाई जबर्जस्ती करणी (बलात्कार) नै मानिन्छ।

पीडित किशोरीको स्वास्थ्य परीक्षण प्रतिवेदन (मेडिकल रिपोर्ट)ले पनि करणी भएको र शरीरमा टोकेको घाउ भएको पुष्टि गरेको अभियोगपत्रमा उल्लेख छ।

जिल्ला सरकारी वकिलको कार्यालयले आरोपित राईविरुद्ध हाडनाता करणीसम्बन्धी कसुरअनुसार हदैसम्मको सजाय माग गरेको छ। त्यसैगरी सौतेनी बाबुले नै यस्तो जघन्य अपराध गरेकाले अभियुक्तबाट ३ लाख रुपैयाँ जरिवाना गराई उक्त रकम पीडित राहत कोषमा जम्मा गर्न माग गरिएको छ।

हाल आरोपित राईलाई पक्राउ गरी पुर्पक्षका लागि अदालतमा पेस गरिएको छ।

चैत १८, २०८२ बुधबार ११:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।