प्रहरी हिरासतमा रहेका मानिसलाई धरौटीमा छुटाइदिने भन्दै ९ लाख ठगी गर्ने २ जना पक्राउ
काठमाडौं : प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाई लाखौँ रुपैयाँ ठगी गर्ने एक दम्पतीलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटारस्थित हलेसी महादेव मार्ग भित्र बस्ने ४५ वर्षिय हरि बहादुर थापा मगर र उनकी श्रीमती ३७ वर्षीया मिठु मगर (अनिता थापा मगर) रहेका छन्।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परी हाल सुनधारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई छुटाइदिने भन्दै उनीहरूले ठगी गरेका हुन्।
उनीहरुले सर्वोच्च अदालतका न्यायाधीशहरूसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै सेटिङ मिलाएर धरौटीमा छुटाइदिने आश्वासन दिएका थिए। उनीहरूले धरौटी रकम र वकिलको बहस खर्चको बहाना बनाई पीडित पक्षलाई मिठु मगरको बैंक खातामा ९ लाख रुपैयाँ जम्मा गर्न लगाएको अनुसन्धानबाट खुलेको छ।
रकम प्राप्त गरेपछि पनि काम नभएको र ठगी गरेको पुष्टि भएपछि प्रहरीले उनीहरूलाई मण्डिखाटारबाट नियन्त्रणमा लिएको हो।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चैत १८, २०८२ बुधबार ११:०४:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।