देउवा क्याम्पमा कोइराला दाजुभाइ, होला त नेतृत्वमा पुनरागमन ?
काठमाडौं : नेपाली कांग्रेसभित्र शक्ति सन्तुलनमा परिवर्तन देखिँदै छ। विगतमा संस्थापन इतर समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइराला र पूर्व महामन्त्री डा. शशांक कोइराला पूर्व सभापति शेरबहादुर देउवा पक्षको समानान्तर बैठकमा सहभागी भएका छन्।
मंगलबारदेखि काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सुरु भएको देउवा समूहको दुई दिने भेलामा कोइराला दाजुभाइको उपस्थिति कांग्रेसभित्रको शक्ति संघर्ष थप पेचिलो बनेको देखिन्छ।
पूर्णबहादुर खड्काले कार्यवाहक उपसभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक बोलाएका थिए। उक्त बैठकको अध्यक्षता खड्काले गरिरहेका छन्। जसले कांग्रेस नयाँ ध्रुवीकरणतर्फ अघि बढेको छ।
शेखर १४ औँ महाधिवेशनमा देउवाविरुद्ध प्यानल नै बनाएर लडेका थिए। तर, गत पुसमा सम्पन्न 'विशेष महाधिवेशन'मा सहभागी नभएका देउवा र शेखर समूह अहिले एउटै कित्तामा उभिएका छन्।
नेतृत्व र नीति बदल्ने संकल्पसहित भएको विशेष महाधिवेशनले गगन थापालाई सभापति चयन गर्यो। त्यसअघि गगन र शेखर एउटै समूहमा थिए। गगनले १४ औँ महाधिवेशनमा शेखरकै समूहबाट महामन्त्री निर्वाचित बनेका थिए। तर, उनी विशेष महाधिवेशनको पक्षमा उभिएपछि उनीहरुबीच दुरी बढ्यो।
विशेष महाधिवेशनपछि अघिल्लो पुस्ताका नेता शेखर देउवा समूहसँग नजिकिए। सोही समूहको बैठक तथा भेलामा उपस्थिति जनाउन थाले। यता नेता शशांक १४ औँ महाधिवेशनदेखि नै देउवा समूहसँगै सहकार्यमा देखिँदै आएका छन्।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा देउवा समूहले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हाल विचाराधीन छ। उक्त कदममा शेखर प्रत्यक्ष रुपमा संलग्न भने भएनन्।
मंगलबारको बैठकमा शेखर केही ढिला गरी पुगेका थिए। उनी नआएसम्म खड्काले बैठक औपचारिक रूपमा सुरु गरेनन्। शशांक १४ औँ महाधिवेशनदेखि देउवाप्रति नरम रहँदै आएका छन्। पार्टीमा आफ्नो मुख्य भूमिका खोजिरहेका उनै दाजुभाइ देउवा क्याम्पका मुख्य सारथिका रूपमा एउटै मञ्चमा देखिएका हुन्।
दुई दिनसम्म चल्ने बैठकमा मुख्य गरी तीन वटा एजेन्डामा छलफल भइरहेको छ। फागुन २१ मा सम्पन्न निर्वाचनको परिणाम, १५ औँ महाधिवेशनको कार्यतालिका र तयारी तथा पार्टीको वर्तमान राजनीतिक अवस्थाबारे ५० भन्दा बढी नेताहरूले मन्थन गरिरहेका छन्। बैठकमा विमलेन्द्र निधि र प्रकाशमान सिंहसहित अघिल्ला पुस्ताका शीर्ष नेताहरूको उपस्थिति छ।
यता पार्टीको आधिकारिक संयन्त्रभन्दा बाहिर गएर समानान्तर गतिविधि भएपछि संस्थापन पक्षले त्यसलाई गम्भीरतापूर्वक लिने भनेको छ। प्रवक्ता देवराज चालिसेले सामाजिक सञ्जालमार्फत 'समानान्तर गतिविधिले पार्टीलाई न्याय नगर्ने' भएकोले अनुशासन पालना गर्न आग्रह गरे।
यद्यपि बुधबार बस्ने पार्टीको अनुशासन समितिको बैठकले पार्टी नेताहरूका पछिल्ला गतिविधिलाई कसरी लिन्छ भन्ने विषयप्रति चासो बढेको छ।
सभापति थापाले आगामी भदौ अतन्तिमसाता पार्टीको १५ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेको छन्। त्यसअघि कोइराला दाजुभाइको देउवा समूहसँगको सहकार्यले आगामी महाधिवेशनमा नयाँ चुनावी समीकरण निश्चित छ। यद्यपि देउवा पक्षले महाधिवेशनबारे लिने निर्णयले कांग्रेसको अन्तर्द्वन्द्व कुन ढंगले अघि बढ्छ भन्ने तय हुनेछ।
चैत १७, २०८२ मंगलबार १७:४४:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।