दसौँ फर्मा एक्स्पोमा ९० प्रतिशत बहुराष्ट्रिय कम्पनी र दश प्रतिशत स्वदेशी
काठमाडौं : ‘नेपाल फर्मा एक्स्पो–२०२६’ मा दुई सय भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएका छन्। जसमध्ये ९० प्रतिशतभन्दा बढी विदेशी तथा बहुराष्ट्रिय कम्पनी र १० प्रतिशत स्टलहरूमा स्वदेशी औषधी उद्योगका उत्पादनहरू प्रदर्शन गरिने आयोजक संस्था नेपाल औषधि उत्पादक संघ (एप्पोन)ले जनाएको छ।
मेलामा सहभागी भएका स्टलमा औषधी उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ उत्पादक र मेसिनको प्रदर्शन हुने आयोजक संस्थाले बुधवार एक पत्रकार भेटघाटमा जानकारी दियो।
नेपाल औषधी उत्पादक संघ (एप्पोन)को आयोजनामा फागुन २८ देखि ३० सम्म तीन दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘नेपाल फर्मा एक्स्पो–२०२६’ दसौँ संस्करण हो।
यो एक्सपो मुख्य नारा ‘फर्मामा नवीनता: भोलिको स्वास्थ्यका लागि’ रहेको छ। मेलाले नेपाली औषधी क्षेत्रको आधुनिक रूपान्तरणलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
संघका अध्यक्ष विप्लव अधिकारीले यसअघि गरिएका अनुसन्धान र आविष्कारहरू आजको औषधि उद्योगको आधार भएको बताउँदै यो एक्सपो नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने बलियो खुड्किलो समेत हुने विश्वास व्यक्त गरे।
संघका महासचिव सन्तोष बरालले यो एक्स्पोमार्फत सरोकारवाला र आम नागरिकलाई नेपालमा नै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन थप सहज हुने बताए।
माघ २८, २०८२ बुधबार २१:२६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।