आजको मौसम : तराईमा तातो लहर, पहाडमा हल्कादेखि मध्यम वर्षा
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल, मधेश प्रदेशमा आंशिक बादल र बाँकी तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
गणडकी प्रदेशका थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भैरहेको छ।
विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।
गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन तथा तराई भू-भागमा तातो लहर हुने सम्भावना रहेको छ।
साथै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ।
कोशी र मधेश प्रदेशका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका तथा कर्णाली प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
जेठ ९, २०८३ शनिबार ०७:११:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।