मुस्ताङमा पहिलो पटक एआई ड्रोनबाट वन गस्ती सुरू
मुस्ताङ : मुस्ताङको कठिन भूगोल र उच्च हिमाली क्षेत्रमा वन तथा वन्यजन्तुको सुरक्षाका लागि पहिलो पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधियुक्त ड्रोनबाट गस्ती सुरू गरिएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेक, खर्क र पाटनहरूमा यो प्रविधिमार्फत अनुगमन थालेको हो।
मुस्ताङमा यसअघि चलचित्र छायाङ्कन र मेला-पर्वका दृष्य खिच्न ड्रोन प्रयोग गरिए पनि वन गस्ती र वन्यजन्तु संरक्षणका लागि एआई ड्रोन प्रयोग गरिएको यो पहिलो पटक हो। न्यून मानव वस्ती भएका र भौगोलिक रूपमा विकट स्थानमा वन अनुगमन गर्न यो प्रविधि प्रभावकारी देखिएको एक्यापले जनाएको छ।
एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार संरक्षित क्षेत्रमा हुने वन पैदावारको अवैध दोहन, वन्यजन्तुको चोरी शिकारी र अन्य अवाञ्छित गतिविधि नियन्त्रण गर्न ड्रोनको सहायता लिइएको हो।
हाल वारागुङ मुक्तिक्षेत्र-१ को लुप्रा लेक तथा घरपझोङ गाउँपालिकाको भ्रप्सा र नमखुलेक लगायतका क्षेत्रमा ड्रोनबाट गस्ती गरिसकिएको छ।
‘अहिले हिमाली क्षेत्रमा यार्सागुम्बा सङ्कलनको सिजन चलिरहेको छ,’ थकालीले भने, ‘यो समयमा सङ्कलनकर्ताहरूबाट हुनसक्ने गैरकानुनी क्रियाकलाप, वन्यजन्तुका लागि थापिने पासो, बन्दुकको प्रयोग र आगलागी जस्ता जोखिम रोक्न ड्रोनले छिटोछरितो अनुगमन गर्न मद्दत पुर्याएको छ।’
१ किलोग्राम तौल भएको यो ड्रोन १५ देखि २० किलोमिटरसम्म पर र ६ किलोमिटरको उचाइसम्म पुग्न सक्नेछ भने प्रतिघण्टा ९० देखि ९७ किलोमिटरसम्मको गतिमा कुद्न सक्छ।
जेठ ६, २०८३ बुधबार ०७:५५:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।