यी स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने पूर्वानुमान

यी स्थानमा हल्का वर्षा, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने पूर्वानुमान

काठमाडौं : हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ। यसको प्रभाव रहँदा हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।

मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। 

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपात तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशलगायत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।

जेठ ५, २०८३ मंगलबार ०७:१०:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।