एमालेमा विद्या भण्डारीका लागि सक्रिय हुने ढोका खुल्यो, सदस्यता नवीकरण गर्ने निर्णय
काठमाडौं : एमालेले १० औँ महाधिवेशन अगाडि अस्वीकार भएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीगत सदस्यता स्वीकार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको पार्टीको सचिवालय बैठकले यस अगाडि अस्वीकृत भएको भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो।
एमाले केन्द्रीय सचिवालयको ११ महिना अगाडिको बैठकले भण्डारी राष्ट्रपति जस्तो सम्मानित पदमा पुगिसकेको भन्दै उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।
१० औँ महाधिवेशनमा भण्डारीले केपी शर्मा ओलीलाई पार्टीको नेतृत्वमा चुनौती दिने तयारी गरेकी थिइन्। उनको सदस्यता अस्वीकृत भएपछि भण्डारीको समूहबाट ईश्वर पोखरेलले ओलीलाई चुनौती दिएका थिए। तर उनी पराजित भए।
फागुन २१ को निर्वाचनमा पार्टी लज्जास्पद रूपमा पराजित भएपछि पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किएको बेलामा पार्टीले आइतबार भण्डारीलाई पार्टीको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाएको थियो।
लगत्तै सोमबार बसेको सचिवालय बैठकले गत साउन ६ गते गरेको आफ्नै निर्णय उल्टाएर भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गर्यो।
जेठ ४, २०८३ सोमबार १८:२४:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।