धनुषाका मिटरब्याज पीडितको अनिश्चितकालीन आन्दोलन सुरु, प्रहरी कार्यालय अगाडि प्रदर्शन

धनुषाका मिटरब्याज पीडितको अनिश्चितकालीन आन्दोलन सुरु, प्रहरी कार्यालय अगाडि प्रदर्शन

जनकपुर : धनुषाका मिटरब्याज पीडितहरूले आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै आइतबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। 

आन्दोलनको पहिलो दिन पीडितहरूले जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि नारावाजीसहित प्रदर्शन गरे।

मिटरब्याज किसान मजदुर आन्दोलन नेपाल, धनुषाका अध्यक्ष शम्भुप्रसाद यादवका अनुसार केही दिनअघि धनुषा फुलगामा-४ की मिटरब्याज पीडित सुनिता साहलाई प्रहरीले पक्राउ गरेपछि पीडितहरू थप आक्रोशित बनेका हुन्। वास्तविक मिटरब्याजीलाई कारबाही गर्नुको साटो प्रहरीले पीडितलाई नै समातेर जेल पठाउन थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको अध्यक्ष यादवले बताए।

पीडितहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र सरकारी वकिल कार्यालय अगाडि प्रत्येक दिन शान्तिपूर्ण धर्ना र विरोध गर्ने अध्यक्ष यादवले बताए।

अध्यक्ष यादवले राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको प्रादेशिक भेलामा मधेश प्रदेशमा विद्यमान मिटरब्याजको समस्या समाधान गर्ने घोषणा गरेकोमा हालसम्म कुनै समाधानतर्फ सरकारले ध्यान नदिएको गुनासो गरे।

गत बैशाख २१ गते केन्द्र र प्रदेशमा ज्ञापन पत्र बुझाएर सरकारलाई ध्यानाकर्षण गराए पनि आफूहरुको समस्याको कुनै सामाधान सरकारले गर्न नखोजेकोमा अध्यक्ष यादवले खेद प्रकट गरे।

मिटरब्याज पीडितहरुले 'मिटरब्याज पीडितलाई पक्राउ गर्न बन्द गर', 'सुदखोरलाई कारबाही गर', 'अदालतको एकलौटीको फैसलाको आधारमा पक्राउ गर्न पाईदैन', 'अदालत/प्रहरी/प्रशासनको दमन बन्द गर', 'हाम्रो माग पूरा गर', 'दफा २४९ –क) लागु गर' लगायतका नारा लगाएका थिए।

उनीहरुले पक्राउ गरेका मिटरब्याज पीडितहरुलाई रिहा गर्न र मिटरब्याजीहरुलाई पक्राउ नगरेसम्म यो शान्तिपूर्ण धर्ना एवम विरोध प्रदर्शन जारी राख्ने चेतावी दिएका छन्। तथ्याङ्क अनुसार धनुषामा मात्रै मिटरब्याज पीडितको संख्या ७० हजार रहेको छ।

जेठ ३, २०८३ आइतबार १७:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।