स्मार्ट टेलिकम प्रकरणमा एनसेलको कार्यालयमा पुगेर सीआईबीले ल्यायो कागजात
काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कार्यालयबाट स्मार्ट टेलिकमसँग सम्बन्धित केही महत्त्वपूर्ण कागजातहरू लिएको छ।
एनसेल कार्यालयमा पुगेर अनुसन्धानका लागि स्मार्ट टेलिकमसँग सम्बन्धित महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो।
उकेरालाई सीआईबी स्रोतले भन्यो, "छापा मारेको होइन। स्मार्ट टेलिकमसँग सम्बन्धित कागजात लिन गएको हो।"
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी गरेको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ।
दूरसञ्चार ऐन, २०५३ बमोजिम २०८० वैशाख ३ गते स्मार्ट टेलिकमको आधारभूत टेलिफोन लाइसेन्स नवीकरण नभएपछि स्वतः रद्द भएको थियो। लाइसेन्स खारेज भएसँगै दूरसञ्चार प्राधिकरणले नियमअनुसार उक्त कम्पनीको सम्पूर्ण सम्पत्ति, पूर्वाधार र सञ्जाल आफ्नो नियन्त्रणमा लिएको थियो।
तर, नेपाल सरकारको हक स्थापित भइसकेको उक्त सम्पत्तिमा सरकारको अधिकार टुटाउने बदनियतपूर्ण उद्देश्य राखेर उनीहरूले गैरकानुनी रूपमा लिलामी गर्ने प्रक्रिया अघि बढाइएको पाइएको थियो।
यस प्रकरणमा यसअघि सीआईबीले स्मार्ट टेलिकमका पूर्वसञ्चालक सर्वेश जोशी र नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरिसकेको छ।
वैशाख ३१, २०८३ बिहीबार १७:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।