ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

ऊर्जा मन्त्रालयद्वारा विद्युत् नियमन आयोगका पदाधिकारी छनोट प्रक्रिया सुरु

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै आयोगका पदाधिकारी छनोटका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेका हुन्।

मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा गठन गरिएको समितिमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन्।

समितिले आयोगको अध्यक्षसहित चार सदस्य पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । यसका लागि १५ दिनको समयसीमा राखी सार्वजनिक सूचना जारी गरिनेछ ।

यसअघि आयोगका अध्यक्ष र चार सदस्य सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।

विद्युत् नियमन आयोग ऐनअनुसार समितिले प्राप्त आवेदनहरूको मूल्यांकन गरी दरखास्त दिने अन्तिम मिति समाप्त भएको २१ दिनभित्र उपयुक्त उम्मेदवारहरूको नाम मन्त्रालयमा सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ।

वैशाख ३१, २०८३ बिहीबार १३:२५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।