नियम विपरीत बस्दै आएका कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

नियम विपरीत बस्दै आएका कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन : बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बस्दै आएका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन्। 

चीन सरकारको सहयोगमा निर्मित यी आवास छोड्न अस्पताल प्रशासनले वैशाख १६ गते सूचना जारी गरे पनि हालसम्म कसैले पनि कोठा छाडेका छैनन्। 

अस्पताल प्रशासनका अनुसार आपत्कालीन सेवामा खटिने चिकित्सक, नर्स र प्राविधिक कर्मचारीहरूलाई वासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता  भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो। 

नियम अनुसार अस्पतालबाट २५ किलोमिटरको दूरीभित्र निजी घर भएका कर्मचारीहरूले अस्पतालको आवास सुविधा प्रयोग गर्न पाउँदैनन्। 

अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था  छ। सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ।  अधिकृतस्तरका  कर्मचारीका लागि ६ वटा घर १० वटामा एकल र अन्य १० वटा भवनमा दुई परिवार बस्नमिल्ने गरी आवास बनाइएका छन्।

यसैगरी, चार परिवार बस्न मिल्ने छ वटा घरमा दुई वटामा चिनियाँ र चार वटामा यहाँका अधिकृत स्तरका कर्मचारी चिकित्सक बस्दै आएका छन्। चिनिया सहयोगमा निर्मित दुई भवनमा १८ परिवार छन्। सहायकस्तरका कर्मचारीका निम्ति बनाइएको ३६ वटा कोठामा १८ परिवार बसिरहेका छन्।

वैशाख २७, २०८३ आइतबार १५:१०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।