ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जनाको लाइसेन्स निलम्बनका लागि सिफारिस

ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जनाको लाइसेन्स निलम्बनका लागि सिफारिस

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक-पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ जना चालकको लाइसेन्स निलम्बनका लागि सिफारिस गरेको छ।

कार्यालयले १६ पटकसम्म ट्राफिक नियम उल्लङ्घन गरेको पाइएपछि ती चालकहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बन गर्न यातायात व्यवस्था विभागलाई पत्राचार गरेको हो।

आइतबार पत्रकार सम्मेलनमा बोल्दै उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा सवारी चालकको लाइसेन्स निलम्बनका लागि यातायात व्यवस्था विभागलाई पत्र पठाएको जानकारी दिए।

‘लापरबाहीपूर्ण सवारी साधन चलाउने यही महिना मात्र ३१ वटा सवारी चालकको सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात कार्यालय लेखेर पठाइएको छ। लापसे/ मापासे गरेर चलाउने १५/२० पटकसम्म लापारवाही गरेर चलाउनेहरुको लाइसेन्स निलम्बनका लागि पठाइएको छ,’ उनले भने ।

यस्तै, पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरीक्षक नरेश राज सुवेदीले काठमाडौं उपत्यकामा बढ्दो जनसङ्ख्या र सवारी चापलाई व्यवस्थित गर्न ट्राफिक प्रहरी २४सै घण्टा परिचालन भइरहेको जानकारी दिए। काठमाडौंमा ५० लाखभन्दा बढी जनसङ्ख्या बसोबास गरिरहेकोमा दैनिक १८ लाखभन्दा बढी सवारी साधन सञ्चालन हुने तथ्याङ्क रहेको बताए।

उनले भने, ‘५० लाख बढी जनसङ्ख्या काठमाडौंमा बसोबास गरेको र १८ लाख भन्दा बढी प्रत्येक दिनमा सवारी साधन चलाउने तथ्याङ्क देखिएको छ। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन सहजीकरण गर्न यहाँको अग्रगमनलाई चाही सूचारु गर्नको लागि विशेष गरी २४ घण्टै डिउटी खट्ने गरेको हुन्छौ।’

उनका अनुसार ट्राफिक व्यवस्थापनलाई सहजीकरण गर्दै नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्ने काम भइरहेको छ। साथै ट्राफिक ट्रायलको नियमित अनुगमन गरी गल्ती भेटिए कानुनी कारबाहीसमेत गरिने उनले बताए।

वैशाख २७, २०८३ आइतबार १४:१२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।