कञ्चनपुरमा अब घरदैलोमै राहदानी, सेवा दिन 'हल्कारा' तयारी अवस्थामा

कञ्चनपुरमा अब घरदैलोमै राहदानी, सेवा दिन 'हल्कारा' तयारी अवस्थामा

महेन्द्रनगर : जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच भएको सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो राहदानी (पासपोर्ट) हात पार्न सरकारी कार्यालय धाइरहनु पर्ने झन्झट अन्त्य भएको छ।

सरकारको 'सरकारी सेवा घरमै पुर्याउने' नीतिअन्तर्गत यो सुविधा सुरु गरिएको हो।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी पुर्याउन ‘हल्कारा’ तयारी अवस्थामा छन्। 
    
हुलाक कार्यालयमा आएका चिठी, पत्रपत्रिका र पार्सल सम्बन्धित व्यक्तिको हातमा पुर्याउन  राहदानी पुर्याउन ‘हल्कारा’ तयारी अवस्थामा छन्। 

जिल्ला हुलाक कार्यालयले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘सरकारी कुरियर सेवा’ सञ्चालन गरिरहेका बेला प्रशासन कार्यालयसितको सम्झौतामा आगामी दिनमा घरदैलोमै राहदानी चाहने सेवाग्राहीका लागि सहजता दिन तयारी गरिसकेको छ।
    
जिल्ला हुलाक कार्यालयका प्रमुख सरोज पाण्डेयले प्रशासन कार्यालयसितको सम्झौतापछि घरमै राहदानी पुर्याउने कामको प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

“प्रशासनमा राहदानी फारमसँगै घरमै राहदानी चाहने सेवाग्राहीले ठेगानासहितको छुट्टै फारम पनि सो प्रयोजनका लागि फारम भर्न थालिसकेका छन्,” प्रमुख पाण्डेयले भने, “अबको दुई सातापछि नयाँ राहदानी जिल्लामा पुग्नासाथ हुलाक कर्मचारी जिल्लाभर वितरण थाल्नेछन्।” 

उनले त्यसका लागि कञ्चनपुरका नौवटै पालिकाका हुलाका कार्यालय तयारी अवस्थामा रहेको जानकारी दिए।
    
“हुलाकका हुलाकी, पत्र वितरक, डाक बाहक, हुलाकी प्रतिनिधि र हल्कारालगायतका पदमा जिल्लाभर ५४ जना कर्मचारी छन्”, पाण्डेयले भने, “प्राप्त भएको राहदानीहरू सेवाग्राहीको घरसम्मै पुर्याउने काम हल्कारा (श्रेणीविहीन कर्मचारी)ले गर्नेछन्।” 

दुई गाउँपालिका र सात नगरपालिका रहेको कञ्चनपुरमा सबै पालिकामा हुलाका कार्यालयमार्फत सेवा प्रदान भइरहेको छ। 

उनले भने, “अब सेवाग्राहीले राहदानी लिन कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास छ।”
    
सरकारको स्वीकृत १०० कार्यसूचीअन्तर्गत को बुँदा नं २७ मा उल्लेखित सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअनुसार यो सेवा कार्यान्वयनमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। 

प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीको राहदानी घरमै पुर्याउने सेवा सुरु भइसकेको जानकारी दिएको छ। 

वैशाख २६, २०८३ शनिबार १४:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।