सिरहामा छोटी भन्सार बन्द गर्ने सरकारको निर्णयविरुद्ध प्रदर्शन, हुलाकी मार्ग ठप्प
सिरहा : नेपाल सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय खारेज गर्ने निर्णय गरेपछि स्थानीय बासिन्दा र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनका कारण हुलाकी मार्ग अवरुद्ध हुँदा बिहानदेखि सवारी आवागमन प्रभावित बनेको छ।
नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार तथा स्थानीय अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै स्थानीयले विरोध जनाएका हुन्।
आन्दोलनकारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८ः३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका छन्।
सडक अवरुद्ध भएपछि पूर्व–पश्चिमतर्फ चल्ने सवारी साधन लामो समयसम्म रोकिएका थिए। प्रदर्शनकारीहरूले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्।
स्थानीय व्यापारीहरूका अनुसार भन्सार कार्यालय बन्द हुँदा व्यापार, राजस्व संकलन तथा दैनिक आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्नेछ।
यता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले आन्दोलनकारीसँग छलफल तथा समन्वय भइरहेको जानकारी दिएका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी रहेको उनले बताए।
वैशाख २४, २०८३ बिहीबार १४:१२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।