भावी प्रधानन्यायाधीशबारे विपक्षी दलमा शंका, उत्तर कोरिया नपछ्याउन सुझाव
काठमाडौं : भावी प्रधानन्यायाधीश सिफारिसका लागि आज संवैधानिक परिषद्को बैठक बस्दैछ।
सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत पुग्ने अध्यादेश ल्याएर बस्न लागेको परिषद्को बैठकले रोलक्रम मिचेर सिफारिस गर्ने हो कि भन्ने संशय प्रमुख प्रतिपक्षी दल कांग्रेसले देखाएको छ।
सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुने उल्लेख छ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेरहदका कारण चैत १८ गते अवकाश पाएपछि उक्त पदका निम्ति सर्वोच्चकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम परिषद्को सचिवालयमा पुगेको थियो।
प्रधानन्यायाधीश नियुक्ति रोलक्रम अनुसार हुँदै आएको छ। सो अनुसार सपना प्रधान मल्ल अगाडि भए पनि पुराना दलको सरकारको पालामा भएको नियुक्तिको क्रम भत्काएर सरकारले अन्यको नाम सिफारिस गर्न सक्ने शंसयमा नेपाली कांग्रेसका नेता देखिएका छन्।
मल्ललाई एमाले नेतृत्वको सरकारले भावी प्रधानन्यायाधीशको रोलक्रम मिलाएर सर्वोच्चको न्यायाधीश नियुक्त गरेको भन्दै यसअघि पनि आलोचना भएको थियो।
बिहीबार विहानै कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा सरकारले परिषद्लाई आफू अनुकुल बनाएर रोलक्रम मिच्न सक्ने शंका गरेका छन्।
६ जना सदस्य रहेकोमा ३ जना बहुमत हुन नसक्ने भन्दै उनले यसअघि बहुमतबारे सर्वोच्चको फैसला उल्लेख गरेका छन्। परिषद् बैठकमा सत्ताधारीबाट प्रधानमन्त्री वालेन्द्र शर्मा, सभामुख डोलप्रसाद अर्याल अनि कानुनमन्त्री सोविता गौतम सहभागी हुनेछन्।
अन्यमा प्रमूख प्रतिपक्षी दलको संसदीय दलको नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख रहेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस छ। राष्ट्रिय सभा अध्यक्ष नेपाली कम्युनिष्ट पार्टीका नारायण प्रसाद दाहाल र उपसभामुख श्रम संस्कृति पार्टीबाट रुबी कुमारी ठाकुर छन्।
अध्यादेशले गणपुरक संख्या अध्यक्षसहित तीन जना सदस्यलाई मानेको छ। सकेसम्म सर्वसम्मत निर्णय र सम्भव नभए बहुमतको प्रावधान राख्दै अध्याधेशमा अध्यक्षसहित पाँच सदस्य उपस्थित भए अध्यक्षसहित तीन जनालाई बहुमत मानेको छ।
अध्यक्षसहित चार जना सदस्य उपस्थित भए अध्यक्षसहित तीन जना, अध्यक्षसहित तीन सदस्य उपस्थित भए अध्यक्षसहित दुई जनालाई बहुमत मानेको छ।
शर्माले एक्समा लेखेका छन्, ‘शब्दमा भन्ने- विगतका गल्ती सच्याउने अनि कर्ममा उत्तर कोरिया पछ्याउने? सम्बन्धित दल लगायत जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन्! ८० वर्षे न्यायिक इतिहासमा पञ्चाचायले समेत नगरेको कर्मको धब्बा बोक्ने नै हो?’
ट्विटमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मेन्सन गरेका छन्।
वैशाख २४, २०८३ बिहीबार १२:३५:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।