सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना: पाँच घाइते, एकको अवस्था गम्भीर

सिन्धुलीमा जन्ती बोकेको बोलेरो दुर्घटना: पाँच घाइते, एकको अवस्था गम्भीर

रामेछाप : सिन्धुलीको दुधौली नगरपालिका–१ राँगेस्थित घुम्तीमा बिहीबार बिहान जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। 

फिक्कल गाउँपालिका–१ महादेवडाँडाबाट बेहुला लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ च ८२०२ नम्बरको डबल क्याप बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको हो। 

गाडीमा बेहुला हेमबहादुर विकसहित १० जना सवार रहेका थिए। दुर्घटनामा बेहुला भने सकुशल रहेको बताइएको छ।

घाइतेमध्ये योगबहादुर खत्रीको अवस्था गम्भीर छ। उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल रिफर गरिएको छ।

अन्य घाइते लालबहादुर विक, साने विक, श्याम विकलगायत चार जनाको स्थानीय सिर्थौली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका घाइतेलाई स्थानीयवासी र सुरक्षाकर्मीले उद्धार गरी अस्पताल पुर्याएका थिए।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुमानमा तीव्र गति मोडका कारण सवारी अनियन्त्रित भएको हुन सक्ने बताइएको छ।

वैशाख २४, २०८३ बिहीबार ११:२७:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।