‘लालीबजार’ लाई अदालतले दियो प्रदर्शन अनुमति
काठमाडौं : फिल्म ‘लालीबजार’ को प्रदर्शनको बाटो खुलेको छ।
उच्च अदालत पाटनले फिल्मको प्रदर्शन रोक्न माग गर्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसको प्रदर्शनको बाटो खुलेको हो।
न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले बुधबार रोशनी नेपालीको रिटमा अन्तरिम आदेश जारी गर्न नपर्ने निर्णय गरेको छ।
यसअघि वैशाख १५ गते अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने ठोस आधार नदेखिएको अदालतको ठहर छ।
‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ।
यसअघि वैशाख १५ गते भने प्रारम्भिक सुनुवाइ गर्दै अल्पकालिन आदेश दिएर दुवै पक्षलाई छलफलमा बोलाएको थियो। जसअनुसार मंगलबार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिएको थियो।
यसअघि यो फिल्म वैशाख १८ देखि प्रदर्शनको तयारीमा रहेको थियो।
वैशाख २३, २०८३ बुधबार १८:४४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।