काठमाडौंका सुकुम्बासी बस्तीमा सरकारको डोजर : २६ सयभन्दा बढी घर-टहरा ध्वस्त, १५ हजार बढी नागरिक विस्थापित

काठमाडौंका सुकुम्बासी बस्तीमा सरकारको डोजर : २६ सयभन्दा बढी घर-टहरा ध्वस्त, १५ हजार बढी नागरिक विस्थापित

काठमाडौं : नदी किनारका सुकुमबासी बस्तीमा  सरकारले विकल्प नै नदिई शुरु गरेको हस्तक्षेपकाक्रममा दुई हजार छ सय ८७ वटा घर-टहराहरू पूर्ण रूपमा भत्काइएको छ। वैशाख १२ गतेदेखि सरकारको निर्देशनमा काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाउने सुरक्षाकर्मी परिचालित थिए। 

सुरक्षाकर्मीको दबाबमा काठमाडौंका विभिन्न स्थानका सुकुमबासी बस्तीका आठ  सय ९० वटा पक्की र १ हजार ७ सय ९७ वटा कच्ची घर-टहरा भत्काइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको विवरण अनुसार सुकुमबासी बस्तीमा सरकारले डोजर लाएसँगै २ हजार ५ सय १ परिवार विस्थापित भएका छन्। 

१५ हजार तीन सय १६ जना व्यक्तिहरू ती बस्तीहरूबाट ‌ओतविहीन भएको तथ्याङ्कले देखाएको छ। जसमा छ हजार आठ सय ५८ महिला र पाँच हजार ३ सय २५ पुरुष, एक हजार चार सय ३७ बालक र एक हजार छ सय ९६ बालिका  छन्।

गैरीगाउँ क्षेत्रमा सबैभन्दा बढी आठ सय ७८ वटा घर-टहरा भत्काइएको छ। बल्खुका चार सय ८०, बालाजुका दुई सय १९, वंशिघाटका दुई सय पाँच र थापाथलीका एक सय ४३ घर/टहरा भत्काईएका छन्।​​​​​​​ कालोपुल, शंखमुल, कालीमाटी, स्वयम्भु, गौशाला, धोविखोला, तेन्जिङचोक, कृष्णमन्दिर र कपन क्षेत्रका सुकुम्बासी बस्तीहरूमा पनि डोजर चलाइएको विवरणमा उल्लेख छ।

प्रशासनको तथ्याङ्कमा काठमाडौंका नदी किनारका सबै सुकुमबासी बस्तीका घर-टहराहरू भत्काइएको उल्लेख छ। सरकारले तत्कालका लागि अव्यवस्थित बसोबासी र सुकुमबासी बस्तीमा डोजर चलाउने अभियान रोकेको दाबी गरेको छ।

वैशाख २३, २०८३ बुधबार १७:५७:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।