वीरेन्द्रनगर भित्रिने तरकारीमा ९५ प्रतिशतसम्म विषादी, नगरपालिकाद्वारा परीक्षण र नष्ट गर्ने कार्यमा कडाइ
सुर्खेत : वीरेन्द्रनगरमा भित्रिने तरकारीमा अत्यधिक विषादी भेटिएपछि वीरेन्द्रनगर नगरपालिकाले परीक्षण कार्यलाई तीव्र बनाएको छ।
विषादीयुक्त तरकारी सहजै उपभोक्ताको भान्सामा पुगिरहेको र यसले जनस्वास्थ्यमा गम्भीर खतरा निम्त्याएको भन्दै नगरपालिकाले निगरानी बढाएको हो।
वीरेन्द्रनगरमा भित्रिएका तरकारीहरुमा अत्यधिक बिषादी प्रयोग भएको पाइएको छ। दैलेखको गुराँस गाउँपालिकाबाट सुर्खेत भित्रिएको काउलीमा ९५ प्रतिशतसम्म अर्गानोफस्फेट विषादी भेटिएको छ। यो मात्राको बिषादी छुँदा पनि स्वास्थ्यमा असर पर्न सक्ने कृषि प्रयोगशालाका नायव प्राविधिक सहायक धनसिंह धामीले बताए।
‘काउलीमा ९५ प्रतिशतसम्म विषादी देखिनु भनेको सिंधै विष सेवन गर्नु सरह हो,’ उनले भने।
यस्तै, बर्दियाबाट ल्याइएको टमाटरमा ५४ प्रतिशत र सुर्खेत जिल्लाबाटै कृषि बजारमा भित्रिएको काउलीमा ४६ प्रतिशत विषादी फेला परेको छ। ४५ प्रतिशतभन्दा बढी विषादी देखिएका तरकारीलाई खानै नमिल्ने सूचीमा राखेर नष्ट गर्नुपर्ने कृषि विज्ञहरुको भनाई छ।
विषादी छरेको केही दिनमै बजार पुग्ने यस्ता तरकारीले मानव स्वास्थ्यमा मन्द विषको काम गरिरहेको र अर्गानोफस्फेट विषादीले मानिसको स्नायु प्रणाली, प्रजनन क्षमता र मृर्गौलामा गम्भीर असर पुर्याउने चिकित्सकले बताएका छन् ।
वीरेन्द्रनगर नगरपालिकाले विषादी पुष्टि भएका तरकारी बरामद गरी नष्ट गर्दै आएको छ। एक हप्तामा ५० भन्दा बढी नमुना परीक्षण गर्दा अधिकांशमा बिषादीको मात्रा नाघेको धामीले बताए।
वैशाख २३, २०८३ बुधबार १६:४७:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।