पशुपति क्षेत्रका सडक सहयोगापेक्षीका लागि 'होर्डिङ सेन्टर' सञ्चालन, पहिलो दिनमै ३६ जनाको उद्धार
काठमाडौं : काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
पशुपति क्षेत्रलाई सडक सहयोगापेक्षी मुक्त बनाउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमको संयुक्त पहलमा तिलगंगास्थित वडा नं. ८ मा वैशाख २३ गते मंगलबारदेखि 'होर्डिङ सेन्टर' सञ्चालनमा ल्याइएको हो।
सञ्चालनको पहिलो दिन मंगलबार ३६ जनाको उद्धार गरिएको थियो। उद्धार गरिएकामध्ये २८ जनालाई सेन्टरमा राखिएको छ भने ६ जना सेन्टरको पर्खाल नाघेर भागेका थिए। सेन्टरमा रहेका व्यक्तिहरूमध्ये ६ जना महिला र बाँकी पुरुष रहेका छन्, जसमा २५ वर्षदेखि ७८ वर्ष उमेर समूहका व्यक्तिहरू छन्।
उद्धार गरिएकाहरुमा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखा लगायतका विभिन्न जिल्लाका नागरिकहरू रहेका छन्।
मानव सेवा आश्रमका अनुसार उद्धार गरिएकामध्ये ४ जनामा मानसिक समस्या देखिएको छ भने केही व्यक्तिहरू ह्विलचेयर र वैशाखीको सहारामा रहेका छन्।
हाल २८ जनालाई सेन्टरमा राखी उनीहरूको पारिवारिक पुनर्मिलन वा आश्रम व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।
मंगलबार नै काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिएकी थिइन्।
‘हामी काठमाडौंलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ। सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकोको मानवोचित बसोबासका लागि महानगरपालिकाले व्यवस्था मिलाउनेछ। यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ। मिलेर काम गरौँ।’
सहयोगापेक्षीसँग कुराकानी गरिसकेपछि उनले भनिन्, ‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो। असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो।’
उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै पारिवारिक अवस्था, सडकमा आउनु परेको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षा लगायत विषयमा जानकारी लिएकी थिइन्। खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिइन्।
कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले सेन्टरको पूर्वाधारलाई व्यवस्थित र सुरक्षित बनाउन कोषले काम गर्ने बताए।
वैशाख २३, २०८३ बुधबार ११:३५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।