महेश पत्नी अम्बिकासहित १० जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा मुद्दा दर्ता, सुनको सिक्री लुटिएको शोभा पाठकको दाबी

महेश पत्नी अम्बिकासहित १० जनाविरुद्ध ‘ज्यान मार्ने उद्योग’मा मुद्दा दर्ता, सुनको सिक्री लुटिएको शोभा पाठकको दाबी

काठमाडौं : एमाले सचिव महेश बस्नेतविरुद्ध आन्दोलनरत जानुका पाठक (शोभा) माथि माइतीघर मण्डलामा साङ्घातिक आक्रमण गरेको अभियोगमा बस्नेतकी पत्नी अम्बिका भण्डारीसहित १० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। 

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मंगलबार उनीहरूविरुद्ध ‘ज्यान मार्ने उद्योग’ (मुलुकी अपराध संहिता, २०७४ को दफा १८३) अन्तर्गत १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको मागदाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो।

अभियोग पत्रअनुसार भक्तपुर गुण्डु घर भएकी महेश बस्नेतकी पत्नी ५२ वर्षीया अम्बिका भण्डारीको नेतृत्वमा १० जनाको समूहले आक्रमण गरेको दाबी गरिएको छ। मुद्दा दायर गरिएका अन्य प्रतिवादीहरूमा गीता पण्डित (बस्नेत), प्रगति थापा, सोनु बराल, जानुका बस्नेत, रेखा न्यौपाने, सविना के.सी., कमला बस्नेत, निता खत्री (बस्नेत) र शर्मिला बस्नेत रहेका छन्।

‘सडकमा घिसारियो, सुनको सिक्री लुटियो’
जाहेरीमा उल्लेख भएअनुसार, विगतमा महेश बस्नेतविरुद्ध उजुरी दिएकी जानुका पाठक न्यायको माग गर्दै माइतीघर मण्डलामा अनशनमा बसेकी थिइन्। स्वास्थ्यमा समस्या आएपछि सरकारको आग्रहमा अनशन तोडेर उनी वैशाख १४ गते दिउँसो १२:०५ बजेतिर सडकमै धर्नामा बसिरहेकी थिइन्।

सोही क्रममा अम्बिका भण्डारीको नेतृत्वमा आएको १० जनाको समूहले उनीमाथि एक्कासि साङ्घातिक आक्रमण गरेको थियो। ‘ज्यान मार्ने उद्देश्यले अन्धाधुन्ध लात्ती, मुक्का प्रहार गरी, कपाल लुछी सडकमा घिसार्दै निर्घात कुटपिट गरियो’, अभियोग पत्रमा भनिएको छ।

आक्रमणकारीहरूले घाँटी अठ्याएर ज्यान लिन खोजेको र उनको घाँटीमा रहेको २ लाख ६५ हजार ६४२ रुपैयाँ बराबरको सुनको सिक्रीसमेत लुटेर लगेको दाबी जाहेरीमा गरिएको छ। 

घटनालगत्तै उपस्थित अन्य महिला र प्रहरीले उनलाई उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगेका थिए। घटनास्थलबाट प्रहरीले लामो कपालको पोका र एयर म्याजिक लेखिएको जुत्तासमेत बरामद गरेको मुचुल्कामा उल्लेख छ।

‘हामी साइबर ब्युरो जाँदै थियौँ, जानुकाले गाली गरेपछि झडप भयो’
पक्राउ परेका प्रतिवादीहरूले भने ज्यान मार्ने वा सिक्री लुट्ने आफ्नो कुनै उद्देश्य नभएको भन्दै इन्कारी बयान दिएका छन्। 

महेश बस्नेतकी पत्नी अम्बिका भण्डारीले दिएको बयानअनुसार, जानुका पाठकले विगत केही वर्षदेखि आफ्नो श्रीमान् र परिवारविरुद्ध झुटा आरोप लगाउँदै चरित्रहत्या गरिरहेकी थिइन्। सोही विषयमा उजुरी दिन भनी वैशाख १४ गते उनीहरू भोटाहिटीस्थित साइबर ब्युरो जाँदै थिए।

माइतीघर पुग्दा जानुका पाठकले आफूहरूलाई देखेपछि एक्कासि 'तथानाम गालीगलौज गरेको' र त्यसपछि दुवै पक्षबीच 'कपाल लुछाचुँडी र सामान्य झडप' मात्र भएको अम्बिकाले दाबी गरेकी छन्।

अन्य प्रतिवादीहरूले पनि बाटो पर्ने भएकाले साइबर ब्युरो जाने क्रममा माइतीघरमा विवाद हुँदा सामान्य हात हालाहाल भएको तर ज्यान मार्ने कुनै योजना नरहेको बताएका छन्।

यस प्रकरणमा प्रहरीले एमाले सचिव महेश बस्नेतको पनि कागज गराएको छ। बस्नेतले जानुका पाठकले विगत साढे दुई वर्षदेखि आफ्नो परिवारको चरित्रहत्या गरिरहेको र सोही विषयमा साइबर ब्युरोमा उजुरी दिन जाँदा बाटोमा विवाद भएको बताएका छन्।

उनले जानुकाले राजनीतिक प्रतिशोध साध्न र मिडियाबाजी गर्न सामान्य झडपलाई 'ज्यान मार्ने उद्योग'को रूप दिएर आफ्नी पत्नीसहितका महिलाहरूलाई फसाएको दाबी गरेका छन्।

प्रतिवादीहरूले इन्कारी बयान दिए पनि प्रहरीले सङ्कलन गरेको सिसिटिभी फुटेज, भिडियो क्लिपहरू र प्रत्यक्षदर्शी (दिपक श्रेष्ठ, अनिल नेपालीलगायत) को बयानले प्रतिवादीहरूले समूह बनाएर योजनाबद्ध रूपमा आक्रमण गरेको देखिएको सरकारी वकिलको निष्कर्ष छ।

ट्रमा सेन्टरको घाउजाँच फाराममा पनि जानुका पाठकको टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको पुष्टि भएको छ।

सरकारी वकिल कार्यालयले १० जना प्रतिवादीलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८३ (१) र (२) बमोजिम ज्यान मार्ने उद्योगमा हदैसम्मको कारबाही (१० वर्ष कैद र १ लाख जरिवाना) माग गरेको छ।

यसका साथै लुटिएको भनिएको सुनको सिक्रीको मूल्य २ लाख ६५ हजार ६४२ रुपैयाँ र उपचार खर्च ४ हजार ७५९ रुपैयाँ प्रतिवादीहरूबाट क्षतिपूर्ति भराउन अदालतसमक्ष मागदाबी गरिएको छ।

वैशाख २३, २०८३ बुधबार ०८:३९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।