जोखिमयुक्त सडकमा सवारी चलाउन रोक, अटेर गरे चालक र सवारीधनीलाई कारबाही गरिने
काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम देखिएका संवेदनशील सडक मार्गमा सवारी आवगमन कडाईपूर्वक बन्द गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
सोमबार साँझ काभ्रेको रोशी खोलामा आएको बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै प्राधिकरणले यात्रु र सवारी साधनको सुरक्षा सुनिश्चित गर्न यस्तो निर्देशन दिएको हो।
प्राधिकरणले जोखिम भएका ठाउँमा सवारी आवागमन बन्दको अवज्ञा गर्ने सवारी चालक एवं सवारीधनीलाई कारबाही गर्नसमेत निर्देशन दिएको छ।
प्राधिकरणका अनुसार सोमबार रोशी खोलाको बहाव बढेपछि सुरक्षाका लागि सवारी साधनलाई सुरक्षित स्थानमा रोक्न भनिएको थियो। तर, प्राधिकरणको निर्देशन र सुरक्षाकर्मीको आग्रहलाई बेवास्ता गर्दै पाँचवटा सवारी अगाडि बढ्दा ८९ जना यात्रु बाढीमा फस्न पुगेका थिए।
सुरक्षा निकायको अथक प्रयासपछि उनीहरूको सकुशल उद्धार गरिएको भए पनि केही चालकको लापरबाहीले यात्रुको ज्यान जोखिममा परेको भन्दै प्राधिकरणले गम्भीर चासो व्यक्त गरेको छ।
केही सवारी चालकका कारण यात्रुहरुको सुरक्षाको सन्दर्भमा गम्भीर प्रश्न खडा भएपश्चात प्राधिकरणले स्थानीय वस्तुस्थिति एवं सडकको जोखिमको अवस्थालाई विश्लेषण गरी आवश्यकताअनुसार सवारी आवागमन कडाइपूर्वक बन्द गर्न अनुरोध गरिएको प्राधिकरणका उपसचिव रामबहादुर के.सी.ले जानकारी दिए।
रोशी खोलाको जस्तो घटना दोहोरिन नदिन प्राधिकरणले विपद् जोखिमको हिसाबले सडकको अवस्था हेरी जोखिम न्यूनीकरण गर्न सम्बन्धित सबै निकायहरुसँग समयमै समन्वय गर्न आग्रह गरेको छ।
त्यसैगरी, विपद्का बेला सडक अवरुद्ध भई सवारी आवगमन बन्द भएको अवस्थामा अलपत्र परेका र जोखिममा रहेका यात्रुहरुलाई सुरक्षित राख्न योजना तयार पारी सोही अनुसार कार्यान्वयन गर्न, गराउन पनि निर्देशन दिएको छ।
प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान, उक्त पूर्वानुमान अनुसार प्राधिकरणबाट जारी हुने पूर्वसूचना, पूर्वचेतावनी र जानकारी पालना गर्न अनुरोध पनि गरेको छ।
वैशाख २२, २०८३ मंगलबार १४:१२:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।