एक सय अर्ब डलरको अर्थतन्त्रका लागि निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए।
मन्त्रिपरिषद्को बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्त्वपूर्ण कदम अघि बढाएको उनले उल्लेख गरे। आगामी सात वर्षभित्र अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउने सरकारको योजना रहेको उनले बताए।
"हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन", वाग्लेले भने, "निर्वाचनको बेला होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैं अग्रस्थानमा छ।"
आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिका लागि निजी क्षेत्रलाई प्रमुख साझेदारका रूपमा अघि बढाइने अर्थमन्त्रीले स्पष्ट पारे। उनले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए।
‘रोजगारी सिर्जनादेखि लिएर उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ,’ उनले भने।
उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने बताए। साथै, निजी क्षेत्रको विश्वास जित्दै आर्थिक सुधारका कार्यक्रम अघि बढाइने उनले भनाइ राखे।
सरकारले ल्याउन लागेको ‘निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ। यसले दीर्घकालीन आर्थिक वृद्धि र स्थायित्वमा योगदान पुर्याउने विश्वास सरकारको छ।
व्यवसायीलाई आग्रह: 'नआत्तिनुस्, नडराउनुस्'
पछिल्ला केही घटनाक्रमहरूलाई लिएर अर्थमन्त्री वाग्लेले उद्योगी तथा व्यवसायीहरूलाई त्रसित नहुन र नआत्तिन आग्रह गरे। उनले कानुनसम्मत व्यवसाय गर्नेहरूलाई सरकारले सधैं संरक्षण गर्ने तर गैरकानुनी काम गर्नेहरूले सजाय भोग्नुपर्ने प्रष्ट पारे।
"उद्योगी व्यवसायी डराउनुपर्दैन तर उद्योग व्यवसायको आवरणमा आपराधिक कुकृत्यमा संलग्न भएका छन भने उनीहरुले सजाय भोग्नुपर्छ",उनले भने, "हामीले नयाँ अनुसन्धान गरेको होइन, पुराना अनुसन्धान जसलाई राजनीतिक आवरणमा लुकाएको, तामेलिमा राखेको फाइल खोलेका मात्रै हौँ।"
उनले सरकारको कदमप्रति शंका नगर्न आग्रह गर्दै भने, "अनावश्यक संशय राख्नुपर्दैन, तरङ्गित हुनु पर्दैन। पक्राउ गर्ने लामो सूची छैन।"
वैशाख २१, २०८३ सोमबार १४:००:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।