बागमती नदी किनारका जोखिमयुक्त बस्तीबाट छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

बागमती नदी किनारका जोखिमयुक्त बस्तीबाट छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं : शहरी विकास मन्त्रालयले  काठमाडौं उपत्यकाका बागमती र यसका सहायक नदी किनारका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण गर्ने क्रममा छुटेका नागरिकहरूलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले सहयोगको आवश्यकता भएका तथा हाल सडकमा अलपत्र परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उपस्थित भई आफ्नो विवरण दर्ता गराउन अनुरोध गरेको हो।

“वास्तविक भूमिहीन नागरिकको ‘डिजिटल’लगत सङ्कलन गरी ‘होल्डिङ सेन्टर’मार्फत व्यवस्थित व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ। नागरिकलाई आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायत आधारभूत सुविधा उपलब्ध गराइनेछ”, सहरी विकास मन्त्रालयद्वारा जारी प्रेस नोटमा भनिएको छ।

सरकारले वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल' लगत सङ्कलन गरी उनीहरूलाई 'होल्डिङ सेन्टर' मार्फत व्यवस्थापन गर्ने व्यवस्था मिलाएको जनाएको छ। ती होल्डिङ सेन्टरहरूमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्श जस्ता आधारभूत सेवा उपलब्ध गराइने बताइएको छ।

मन्त्रालयले विशेषगरी वास्तविक भूमिहीन तथा आर्थिक रूपमा कमजोर भई आफैं व्यवस्थापन गर्न असमर्थ नागरिकहरूलाई दशरथ रङ्गशालास्थित दर्ता केन्द्रमा उपस्थित भई सरकारद्वारा उपलब्ध गराइएका सेवा सुविधाहरू लिन आग्रह गरेको छ। 

सरकारले नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनःस्थापनामा लागि पूर्ण प्रतिबद्धता जनाएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ। 

वैशाख २०, २०८३ आइतबार १४:४६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।