एमालेमा डिजिटल सदस्यता प्रणाली लागू, अब अनलाइनबाटै आवेदन र नवीकरण
काठमाडौं : एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित सदस्यतासम्बन्धी बैठकमा यसबारे विस्तृत छलफल गरिएको सङ्गठन विभागका संयोजक एवं पार्टी केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए।
पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशका नेताहरू तथा जनसङ्गठनका प्रतिनिधिहरूको उपस्थितिमा सदस्यता व्यवस्थापनसम्बन्धी ‘डेमो’ (प्रदर्शनात्मक) प्रस्तुत गरिएको थियो। उक्त बैठकमा प्रस्तावित प्रणाली र यसको कार्यान्वयनका विभिन्न पक्षबारे गहन छलफल भएको ढकालले बताए।
प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब अनलाइन प्रणालीमार्फत नै सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र सम्पूर्ण अभिलेख व्यवस्थापनको काम डिजिटल रूपमा गरिनेछ। सङ्गठन विभागका अनुसार अब एमालेको सम्पूर्ण सदस्यता प्रक्रिया अनलाइन प्रणालीमार्फत मात्र सञ्चालन हुनेछ।
बैठकमा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियान पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने महत्त्वपूर्ण कदम भएको बताए।
वैशाख २०, २०८३ आइतबार १४:०४:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।