आज कपन, देवीनगर र तिलगङ्गाका अतिक्रमित संरचना हटाइँदै
काठमाडौं : काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी किनार तथा सरकारी एवं सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई सरकारले तीव्र पारेको छ।
सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा आज बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको काठमाडौंका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।
“कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ”, उनले भने।
धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर–देवीनगर, विष्णुमति नदी किनारस्थित कामपा–१६ बालाजु–माछापोखरी र तिलगङ्गा क्षेत्रका अतिक्रमित संरचना खाली गर्ने क्रम चलिरहेको छ। उनका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र करिब दुई हजार तीन सय बढी घरटहरा हटाइएको छ।
काठमाडौँ महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५/२०, बालाजुमा तीन र तिलगङ्गामा ८९ संरचना आज हटाइँदै छ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि गत शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुमवासी बस्ती हटाउने क्रम सुरु भएको हो। शनिबार काठमाडौंको थापाथाली, सिनामङ्गल–गैरीगाउँ, भक्तपुरको मनोहरालगायत क्षेत्रका संरचना हटाइएको थियो।
अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको छ। त्यहाँ राखिएका भूमिहीन सुकुमवासीको पहिचान गरी उनीहरुलाई व्यवस्थापन पनि गरिएको छ।
बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुमवासीको पहिचान गर्न थालेको छ। सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ।
वैशाख २०, २०८३ आइतबार १३:२५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।