अदालत धाउने प्रवृत्तिले पार्टी चल्दैन, अब अधिवेशनतिर केन्द्रित हौं : महामन्त्री पौडेल
चितवन : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आन्तरिक विवाद समाधानका लागि १५ औँ महाधिवेशनलाई मुख्य आधार बनाउनुपर्ने धारणा राखेका छन्। वर्तमान नेतृत्व पार्टीमा सुदृढ एकता कायम गरेर अगाडि बढ्न खोजिरहेको उनको भनाई छ।
पार्टीभित्र देखिएका समस्याहरूको राजनीतिक समाधान महाधिवेशन नै भएको उनको तर्क छ। सोमबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले विवादलाई न्यायालयमा लैजानुको सट्टा सांगठनिक प्रक्रियाबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिए।
"अब अधिवेशन तिर लागौं, अदालत तिर होइन", उनले भने। अदालत धाउने प्रवृत्तिले पार्टी नचल्ने उनको आशय थियो। महामन्त्री पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताए।
उनले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताएका हुन्।
उनले भने, “जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरूप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन।”
फरक प्रसङ्गमा उनले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रूपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको बताए। सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ।
चैत ३०, २०८२ सोमबार १४:५४:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।