बक्स अफिसमा ‘आमा’को आम्दानी १३ करोड नाघ्यो, ‘हामी तीन भाइ’लाई दर्शकको खडेरी

बक्स अफिसमा ‘आमा’को आम्दानी १३ करोड नाघ्यो, ‘हामी तीन भाइ’लाई दर्शकको खडेरी

काठमाडौं : नेपाली चलचित्र बक्स अफिसमा चलचित्र ‘आ बाट आमा’ले सानदार व्यापार गरेको छ।

आधिकारिक बक्स अफिस प्रणाली (सिनेपा)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार ‘आ बाट आमा’ले १३ करोडभन्दा बढीको व्यापार गरेको छ भने प्रदर्शनरत अर्को स्वदेशी चलचित्र 'हामी तीन भाइ' को अवस्था भने निकै दयनीय देखिएको छ।

सिनेपाले नेपालभर प्रदर्शन भइरहेका स्वदेशी चलचित्रहरूको चैत्र २८ गते शनिबार राति ११:५९ बजेसम्मको आधिकारिक तथ्यांक सार्वजनिक गरेको हो। सार्वजनिक रिपोर्ट अनुसार चलचित्र ‘आमा’ हेर्न हलहरूमा दर्शकको घुइँचो लागेको छ।

चैत्र २८ गतेसम्म यस चलचित्रको ५ लाख ४ हजार ९ सय ५ वटा टिकट बिक्री भइसकेको छ। यसबाट चलचित्रले १३ करोड १५ लाख १ हजार ५ सय २० रुपैयाँको सानदार ग्रस कलेक्सन (आर्थिक आम्दानी) गरेको छ।

यता, ‘आमा’ले करोडौंको व्यापार गरिरहँदा अर्को चलचित्र 'हामी तीन भाइ' ले भने बक्स अफिसमा पानी समेत भन्न पाएको छैन।

सोही अवधिसम्म यस चलचित्रको जम्मा २ हजार ७ सय ६८ वटा मात्र टिकट बिक्री भएको छ। यसबाट चलचित्रले जम्मा ७ लाख २९ हजार ८ सय ५ रुपैयाँ मात्र आम्दानी गरेको छ। दुई चलचित्रको व्यापारबीच आकाश जमिनको फरक देखिएको छ।

चैत ३०, २०८२ सोमबार १३:४८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।