केपी ओलीको पित्तथैलीको शल्यक्रिया सफल, आईसीयूमा राखेर निगरानी गरिँदै
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल गरिएको छ।महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सोमबार उनको शल्यक्रिया सम्पन्न भएको हो।
अस्पताल प्रशासनले एक स्वास्थ्य बुलेटिन जारी गर्दै अध्यक्ष ओलीको स्वास्थ्य अवस्था हाल ‘स्थिर’ रहेको जानकारी दिएको छ। शल्यक्रियापश्चात् आवश्यक निगरानी (मनिटरिङ) का लागि उनलाई हाल सघन उपचार कक्ष (आईसीयू) मा राखिएको छ।
अस्पतालका अनुसार, ओलीलाई ‘सिम्प्टोम्याटिक कोलेलिथियासिस’ पित्तथैलीमा पत्थरी भई समस्या देखिने अवस्था) को समस्या भएपछि ल्याप्रोस्कोपिक विधिबाट पित्तथैली निकाल्ने शल्यक्रिया गरिएको हो।
अध्यक्ष ओलीको नियमित स्वास्थ्य निगरानी गरिरहेका नेफ्रोलोजी विभागका प्रमुख प्रा.डा. दिव्या सिंह शाह र प्रा.डा. महेश राज सिग्देलको समन्वयमा ग्यास्ट्रोइन्टेस्टाइनल सर्जरी विभागका विशेषज्ञ टोलीले शल्यक्रिया गरेको हो।
शल्यक्रिया टोलीमा प्रा.डा. पलेश्वा जोशी लाखे, सह-प्रा.डा. विष्णु प्रसाद कँडेल र डा. दिपक शर्मा संलग्न थिए भने एनेस्थेसियातर्फबाट डा. अमित शर्मा भट्टराई र डा. पंकज जोशीले सघाएका थिए।
हाल आईसीयूमा उनको उपचारमा सह-प्रा.डा. प्रमेश सुन्दर श्रेष्ठ र डा. हेम राज पनेरु खटिएका छन्।
यसका साथै, उनको समग्र स्वास्थ्यलाई ध्यानमा राख्दै कार्डियोलोजी (मुटु रोग) विभागका प्रा.डा. चन्द्रमणि पौडेल र डा. सूर्य देवकोटा पनि उपचार टोलीमा संलग्न रहेको अस्पतालले जनाएको छ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन अत्यधिक बल प्रयोग गर्दा १९ जनाको ज्यान गएपछि त्यसलाई छानबिन गर्न बनेको आयोगले उनलाई दोषी ठहर गर्दै ज्यानमुद्दा चलाउन सिफारिस गरेको थियो।
त्यसै अनुरुप गत चैत १४ गते विहान गुन्डुस्थित निवासबाट पक्राउ परेका उनलाई त्यसयता अस्पतालमै राखिएको थियो। सर्वोच्च अदालतको सोमबारको आदेशपछि उनी गत बिहीबार रिहा भएका थिए।
ओली आफैँले पछि जोखिम बढ्नसक्ने भएकाले अहिल्यै शल्यक्रिया गरिदिन अनुरोध गरेका थिए। चिकित्सकहरूले पनि जोखिमको मूल्यांकनपछि मात्र शल्यक्रिया गरिएको आचार्यले बताए।
चैत ३०, २०८२ सोमबार १३:२२:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।