प्रधानमन्त्री कपमा बन्यो अहिलेसम्मकै सर्वाधिक रन, आसिफ शेखले बनाए दोहोरो शतक
काठमाडौं : जारी प्रधानमन्त्री कप (पीएम कप) पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा कीर्तिमानहरू बन्ने र तोडिने क्रम तीव्र बनेको छ।
चैत १० गते नेपाल पुलिस क्लबले बनाएको प्रतियोगिताकै सर्वाधिक ठूलो स्कोरको कीर्तिमानलाई २० दिन नबित्दै एपीएफ क्लबले ध्वस्त पारिदिएको छ।
आज वीरगञ्जको नारायणी क्रिकेट मैदानमा मधेश प्रदेशविरुद्ध ५० ओभरमा मात्र ४ विकेट गुमाएर ३९० रनको विशाल योगफल खडा गर्दै एपीएफले पीएम कप इतिहासकै नयाँ र सर्वकालिक उच्च स्कोरको कीर्तिमान रचेको हो।
रोचक कुरा के छ भने, पुलिसले चैत १० गते एपीएफविरुद्ध नै ३५५ रन बनाएर एपीएफकै ८ वर्ष पुरानो (मधेशविरुद्ध ३३९ रनको) रेकर्ड तोडेको थियो।
तर, आफ्नो नाममा रहेको रेकर्ड पुलिसले खोसेको ठीक २० दिनपछि एपीएफले ब्याटबाटै कडा जवाफ फर्काएको छ। आजको यस सानदार प्रदर्शनसँगै एपीएफले पुलिसको ३५५ रनको रेकर्डलाई इतिहासको पानामा सीमित गर्दै प्रधानमन्त्री कपको उच्च स्कोरको ताज पुनः आफ्नै शीरमा पहिरिएको छ।
आसिफ शेखको दोहोरो शतक
एपीएफलाई यस ऐतिहासिक योगफलसम्म पुर्याउन ओपनर तथा विकेटकिपर ब्याटर आसिफ शेखले ऐतिहासिक दोहोरो शतक प्रहार गरे। टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफका लागि आसिफले १४२ बलको सामना गर्दै १५ चौका र १७ वटा विशाल छक्काको मद्दतमा २०८ रनको विष्फोटक इनिङ्स खेले।
१४६.४७ को स्ट्राइक रेटमा ब्याटिङ गरेका आसिफ ‘रिटायर्ड हर्ट’ हुँदै पेभेलियन फर्किएका थिए। उनको यो इनिङ्स नेपाली घरेलु क्रिकेट इतिहासकै उत्कृष्ट र विष्फोटक व्यक्तिगत प्रदर्शनमध्ये एक बनेको छ।
आसिफलाई अन्य ब्याटरहरूले पनि सानदार साथ दिए। कप्तान रोहित पौडेलले ७३ बलमा ६ चौका र १ छक्कासहित ५५ रनको अर्धशतकीय इनिङ्स खेल्दै दोस्रो विकेटका लागि बलियो साझेदारी गरे।
त्यसैगरी, मध्यक्रममा आएका सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै ४२ बलमै ६ चौका र २ छक्कासहित ५६ रन बनाए। अन्तिम ओभरतिर लोकेश बमले १४ बलमा अविजित २१ रन र कमल ऐरीले ६ बलमा २ छक्कासहित अविजित १८ रन जोडेपछि एपीएफले झन्डै ४ सय रनको आँकडा छोएको हो।
मधेशका बलरहरू निरीह
मधेश प्रदेशले टस जितेर पहिले बलिङ गर्ने निर्णय आज पूर्ण रूपमा गलत सावित भयो। मधेशका बलरहरू एपीएफका ब्याटर, विशेषगरी आसिफ शेखको प्रहारसामु निरीह देखिए।
मधेशका लागि रुपेश सिंहले १० ओभरमा ८० रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने रञ्जित कुमारले १० ओभरमा ४४ रन दिएर १ विकेट हात पारे। विशाल पटेल (९ ओभरमा ८० रन) र पवन सर्राफ (५ ओभरमा ५० रन) निकै महँगा सावित भए।
यस कीर्तिमानी योगफलसँगै एपीएफले मधेश प्रदेशसामु खेल जित्न ३९१ रनको असम्भवप्रायः र विशाल लक्ष्य प्रस्तुत गरेको छ। जारी प्रतियोगितामा एकपछि अर्को ब्याटिङ कीर्तिमान तोडिँदा यो सिजन ब्याटरहरूका लागि स्वर्णिम बनिरहेको प्रमाणित भएको छ।
चैत ३०, २०८२ सोमबार १२:२९:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।