भारतको नोएडामा तलब बढाउन माग गर्दै मजदुरको प्रदर्शन हिंसक, ‘हाइ अलर्ट’मा दिल्ली प्रहरी
एजेन्सी : भारतको उत्तर प्रदेशस्थित नोएडामा तलब बढाउनुपर्ने माग गर्दै मजदुरहरूले गरेको प्रदर्शन हिंसक बनेको छ। सोमबार नोएडाको फेज-२ र सेक्टर ६० क्षेत्रमा प्रदर्शनकारीहरूले आगजनी, तोडफोड र ढुंगामुढा गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार, विभिन्न कम्पनी र औद्योगिक इकाइ (फ्याक्ट्री) का मजदुरहरू तलब वृद्धिको पुरानो माग लिएर विरोध गर्न भेला भएका थिए।
मजदुर युनियनले दिल्ली-नोएडा सीमामा गरेको प्रदर्शनका कारण लामो ट्राफिक जाम भएको थियो, जसले गर्दा सवारी साधनको आउजाउ करिब ठप्प बनेको थियो।
सुरुमा नाराबाजी गर्दै शान्तिपूर्ण रुपमा भेला भएका मजदुरहरूको प्रदर्शन पछि एक्कासि हिंसक बनेको थियो। उता, प्रदर्शनकारी मजदुरहरूले भने प्रहरीले आफूहरूमाथि जबर्जस्ती बल प्रयोग गरेको आरोप लगाएका छन्।
अधिकारीहरूका अनुसार, नोएडामा फ्याक्ट्री मजदुरहरूको प्रदर्शनले उग्र रुप लिएपछि दिल्ली प्रहरीलाई 'हाई अलर्ट' (उच्च सतर्कता) मा राखिएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतको राजधानी दिल्ली प्रवेश गर्ने मुख्य सडकहरूमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ।
चैत ३०, २०८२ सोमबार १२:११:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।