प्रधानमन्त्री कपमा ‘सुपर फ्लप’ रोहित : अर्धशतकका लागि नवौं खेल कुर्नुपर्यो, बनाए जम्मा १३५ रन
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल जारी प्रधानमन्त्री (पीएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा पूर्ण रूपमा असफल साबित भएका छन्।
घरेलु मैदानमै आईसीसी विश्वकप लिग-२ को दुई वटा त्रिदेशीय सिरिज सुरू हुनुअघि राष्ट्रिय टोलीको नेतृत्व सम्हाल्ने र मध्यक्रमको ब्याटिङको पिलर मानिने रोहितको ब्याट भने प्रतियोगिताभर ‘सुपर फ्लप’ देखिएको छ।
जारी प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ)को कप्तानी गरेर खेलिरहेका रोहितले ९ खेलमा जम्मा १३५ रन मात्रै जोड्न सकेका छन्। बलिया मानिएका विभागीय टोली हुन् वा अनुभवहीन प्रदेशका टोली, रोहित सबैका बलरसामु निरीह साबित भए।
प्रतियोगितामा बागमती प्रदेशविरुद्ध ९, नेपाल पुलिस क्लबविरुद्ध ११, त्रिभुवन आर्मी क्लबविरुद्ध २६, गण्डकी प्रदेशविरुद्ध ३, लुम्बिनी प्रदेशविरुद्ध शून्य (०), सुदूरपश्चिम प्रदेशविरुद्ध ११ र कोशी प्रदेशविरुद्ध २० रनमा प्याभिलियन फर्किनुले उनको खस्कँदो फर्मलाई छर्लङ्ग पार्छ। कर्णाली प्रदेशविरुद्धको खेलमा भने उनले ब्याटिङको पालो नै पाएनन्।
प्रतियोगिताको ९ खेलसम्म आइपुग्दा आज बल्ल उनले आफ्नो पहिलो र एक मात्र अर्धशतक प्रहार गरेर केही लाज जोगाउने प्रयास गरे। तर, उक्त इनिङ्सले पनि उनको लय फर्किएको विश्वासिलो आधार दिँदैन। आजको खेलमा उनले ७३ बलको सामना गर्दै मुस्किलले ५५ रन बनाए।
एकदिवसीय क्रिकेटको आधुनिक गतिलाई हेर्दा उनको यो सुस्त इनिङ्सलाई सन्तोषजनक मान्न सकिँदैन। ९ खेल खेल्दा जम्मा एउटा मात्र ५० पारिको स्कोर खडा गर्नु राष्ट्रिय टोलीको कप्तानका लागि सुहाउने तथ्यांक पटक्कै होइन। प्रधानमन्त्री कपको ब्याटरमा वरीयतामा हेर्दा उनी ३३औं स्थानमा छन्। उनीभन्दा धेरै रन प्रहार गर्ने ३२ जना खेलाडीहरू छन्।
घरेलु क्रिकेटको सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगितामा राष्ट्रिय टोलीकै कप्तान यति कमजोर देखिनु पक्कै पनि नेपाली क्रिकेटका लागि शुभ संकेत होइन। रोहितको यो निरन्तरको असफलताले एकातिर उनको व्यक्तिगत फर्म र आत्मविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ।
प्रतियोगितामा गण्डकी प्रदेशका ब्याटर अर्जुन कुमाल ८ खेलमा ४९८ रनसहित पहिलो स्थानमा छन् भने एपीएफका आशिफ शेख नौ खेलमा ३८३ रन बनाएर खेलिरहेका छन्। तेस्रो स्थानमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारी छन्।
अप्रिल २५ देखि नेपालले युएई र ओमान तथा १२ मेदेखि अमेरिका र स्कटल्यान्डसँग लिग-२ सिरिज हुँदैछ। त्यसअघि २० र २१ अप्रिलमा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीचको टी२० अन्तर्राष्ट्रिय सिरिज हुनेछ।
चैत ३०, २०८२ सोमबार ११:४०:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।