वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ
रौतहट : पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ।
पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसियाको हत्या भएको प्रहरीले जनाएको छ। उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनास्थलमा चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला परेका थिए।
उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। वीरगन्जकै मुर्लीमा डेरा गरी बस्दै आएका चौरसिया १० दिनको बिदा लिएर घर आएका थिए। प्रहरीले सो हत्यामा संलग्न भएको आशङ्कामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन्।
घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिए।
चैत ३०, २०८२ सोमबार ११:२९:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।