दोलखामा जेसिबी दुर्घटना, रामेछापका ३० वर्षीय चालकको मृत्यु

दोलखामा जेसिबी दुर्घटना, रामेछापका ३० वर्षीय चालकको मृत्यु

दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका-३, एक्ले सल्लोमा जेसिबी दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका-१२ गेलु बस्ने खड्क बहादुर खत्रीका छोरा अन्दाजी ३० वर्षीय सुगम पौडेल (खत्री) को घटनास्थलमै मृत्यु भएको हो। उनलाई विक्रम नामले समेत चिनिन्थ्यो।

सिंगटी-चरिकोट सडक खण्डअन्तर्गत सिंगटीबाट बन्चरेतर्फ जाँदै गरेको विन्दावासिनी निर्माण सेवाको नाममा दर्ता भएको बा.प्र.०१–००४ प ५४४० नम्बरको जेसिबी १२/२८ गते राति सडकबाट करिब ७ मिटर तल खसेर दुर्घटना भएको थियो।

इलाका प्रहरी कार्यालय सिंगटीबाट करिब एक किलोमिटर दक्षिणतर्फ भएको उक्त दुर्घटनाबारे भोलिपल्ट (२९ गते) बिहान ६:४५ बजे मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

टेलिफोनमार्फत खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी निरीक्षक विष्णु हरि फुयाँलको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरी टोली घटनास्थल पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार दुर्घटनाको समयमा जेसिबीमा चालक मात्र सवार थिए। दुर्घटना रातिको समयमा भएकाले यसको यकिन कारण भने खुल्न सकेको छैन। 

घटनास्थलको मुचुल्का संकलन गरेपश्चात २९ गते दिउँसो २:३५ बजे मृतकको शवलाई पोस्टमार्टमका लागि चरिकोटस्थित पशुपति स्मृति चौलागाईं अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

चैत ३०, २०८२ सोमबार १०:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।