हंगेरीमा १६ वर्षपछि भिक्टर ओर्बानको सत्ता ढल्यो, टिसा पार्टीलाई दुई तिहाइ बहुमत
बुडापेस्ट : हंगेरीमा विगत १६ वर्षदेखि चल्दै आएको भिक्टर ओर्बानको शासनकाल अन्त्य भएको छ। हालसम्म करिब ९८ प्रतिशत भोट गनिसक्दा प्रारम्भिक नतिजाअनुसार विपक्षी दल ‘टिसा पार्टी’ले भारी बहुमत ल्याउने पक्का भएको छ।
१९९ सिट रहेको हंगेरीको संसदमा पिटर म्याग्यार नेतृत्वको ‘टिसा पार्टी’ले १३८ सिट जित्ने देखिएको छ। यसअघि सत्तामा रहेको ओर्बानको ‘फिडेज पार्टी’ जम्मा ५५ सिटमा खुम्चिएको छ भने अति दक्षिणपन्थी पार्टी ‘आवर होमल्याण्ड’ले ६ सिट मात्र प्राप्त गरेको छ।
टिसा पार्टीका नेता पिटर म्याग्यारले ड्यान्युब नदीको किनारमा जम्मा भएका विशाल समर्थकको भीडलाई सम्बोधन गर्दै आफ्नो जितको घोषणा गरेका छन्। उनले भने, ‘हामी सबै मिलेर हंगेरीको सरकार ढालेका छौँ।’
साथै, निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले आफूलाई टेलिफोन गरेर जितको बधाई दिएको पनि उनले जानकारी दिए।
यता, हार स्वीकार गर्दै भिक्टर ओर्बानले आफ्ना समर्थकहरूलाई भने, ‘नतिजा स्पष्ट र पीडादायी छ। हामीलाई साथ दिने २५ लाख नागरिकलाई हामीले धन्यवाद दिनुपर्छ। अबका दिनहरू हाम्रा घाउहरू निको पार्ने दिन हुनेछन्।’
नयाँ प्रधानमन्त्री बन्न लागेका म्याग्यारले ओर्बानको पालामा गरिएका नीतिगत परिवर्तनहरू उल्ट्याउने घोषणा गरेका छन्।
उनले जनतासामु शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने, भ्रष्टाचारमाथि रोक लगाउने, न्यायपालिकालाई सरकारको प्रभावबाट मुक्त गरी स्वतन्त्र बनाउने, ओर्बानका आसेपासेलाई मात्र फाइदा पुग्ने र सरकारी स्रोतको दोहन हुने ‘एनईआर’भनिने प्रणाली खारेज गर्ने वाचा गरेका छन्।
हंगेरीको कानुनअनुसार संविधानमा कुनै पनि परिवर्तन गर्न संसदमा १३३ सिटको (दुई तिहाइ) आवश्यकता पर्छ। ताजा नतिजाले टिसा पार्टीलाई १३८ सिट मिल्ने देखाएकोले अब म्याग्यार नेतृत्वको नयाँ सरकारलाई सजिलै संविधान संशोधन गर्ने अधिकार प्राप्त हुनेछ।
चैत ३०, २०८२ सोमबार ०७:५६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।