गृहमन्त्री सुधनको सम्पत्ति : अपार्टमेन्टसहित चार करोडको सेयर, ५६ लाख नगद, गाडी लगुमको
काठमाडौं : स्वयम्भूमा रहेको लगुम अपार्टमेन्ट्स प्रालिमा गृहमन्त्री सुधन गुरुङको लगानी रहेको खुलेको छ। आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा उनले लगुमको ५७ हजार थान सेयर ५७ लाखमा किनेको र त्यसको स्रोत व्यवसाय र पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्।
उनले बुझाएको विवरण अनुसार उनी सो अपार्टमेन्टको एकल शेयरधनी देखिँदैनन्। तर त्यही अपार्टमेन्टको नाममा रहेको गाडी भने आफ्नो सम्पत्तिको रूपमा उल्लेख गरेका छन्। गाडी धनीको रूपमा नाम भने अपार्टमेन्टको नाममा राखेका छन्। सरकारी सुविधाको गाडी नचढ्ने भन्दै निजी सवारीसाधन प्रयोग गरेका सुधनले चढ्ने रातो रंगको गाडी लगुमको नाममा रहेकोबारे उकेराले प्रमाणसहित सार्वजनिक गरेको थियो। यसबारे उनीसँग प्रतिक्रिया लिन खोज्दा उनी मौन रहेका थिए।
उकेराले सो अपार्टमेन्टको आधिकारीकताबारे काठमाडौं उपत्यका विकास प्राधिकरण र नागार्जुन नगरपालिकामा बुझ्दा अनुमति लिएको कुनै रेकर्ड फेला परेको थिएन। यी दुवै निकायमा सो अपार्टमेन्टले अनुमति लिएको देखिएन।
यसैगरि उनको नाममा होप होल्डिङस् प्रालिमा ३० लाखको ३० हजार थान सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनको धितोपत्र बजारमा २ करोड ७४ लाख बराबरको सेयर रहेको त्यसको स्रोत पनि व्यवसाय र पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन्। उनको विभिन्न क्षेत्रमा सेयरमा ४ करोड ३१ लाख बढी लगानी देखिन्छ।
उनको नाममा एड्भेन्चर भिल्ला प्रालिमा पनि ७० हजार थान शेयर रहेको र त्यसको मूल्य ७० लाख हुन आउने उल्लेख गरेका छन्। उनको नाममा धनकुटा, चितवन र गोर्खामा जग्गाहरू रहेका छन्। धनकुटामा १५ रोपनी १५ आना जग्गा रहेको र त्यसको स्रोत लगानीबाट प्राप्त आय रहेको उल्लेख गरेका छन्। चितवनमा रहेको ३० कट्ठा जग्गा पैतृक सम्पत्ति रहेको र गोर्खामा २ सय २१ रोपनी पैतृक सम्पत्ति रहेको उल्लेख छ।
गहनामा उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको उल्लेख छ। उनको नाममा विभिन्न बैंकमा ६१ लाख नगद मौज्दात रहेको छ। सम्पत्ति विवरणमा उनले त्यसको स्रोत भने खुलाएका छैनन्। उनको नाममा कतै ऋण देखिन्न। सवारीसाधनमा त्यही लगुमको नाममा रहेको गाडीलाई उल्लेख गरेका छन्।
चैत २९, २०८२ आइतबार २१:१८:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।