अर्थमन्त्रीको सम्पत्ति : साढे १२ करोडको अपार्टमेन्ट, कमाइको स्रोत अन्तर्राष्ट्रिय रोजगारी

अर्थमन्त्रीको सम्पत्ति : साढे १२ करोडको अपार्टमेन्ट, कमाइको स्रोत अन्तर्राष्ट्रिय रोजगारी

काठमाडौं : अर्थमन्त्री डा स्वर्णिम वाग्लेको १२ करोड ७५ लाख मूल्यको चारवटा घर र अपार्टमेन्ट रहेको सार्वजनिक भएको छ। आइतबार सार्वजनिक सम्पत्ति विवरणमा ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख छ।

उनले यो सम्पत्तिको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री र बैंक ऋण तथा व्यक्तिगत सापटी रहेको उल्लेख गरेका छन्। सार्वजनिक भएको सम्पत्ति विवरणमा उनको नाममा १ करोड ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको खुलेको छ।

काठमाडौँ, गोरखा, चितवन र तनहुँमा २२ रोपनी जग्गा रहेको विवरणमा उल्लेख छ। यसको आयको रूपमा बाबुको आय, अन्तर्राष्ट्रिय संस्थामा काम गर्दाको आफ्नो आम्दानी र श्रीमतीको आम्दानीको रूपमा उल्लेख गरेका छन्।

सुन ४५ तोला रहेको र यसको स्रोत पैतृक र आम्दानी रहेको उल्लेख छ। तीनवटा बैंकमा एक करोड ९० लाख बचत रहेको र त्यसको स्रोत श्रीमान्-श्रीमतीको आय र सापटी उल्लेख छ। उनको नाममा विभिन्न संस्थाको चार करोड ५० लाखको शेयर रहेको खुलेको छ।

विभिन्न बैंकमा उनको नाममा साढे ४ करोड ऋण लिएको र ३ करोड ५५ लाख अझैँ तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उनको नाममा ९४ लाख पर्ने निजी गाडी रहेको देखिन्छ।

चैत २९, २०८२ आइतबार २०:४१:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।