प्रधानमन्त्री बालेन्द्रको मुख्य सम्पत्ति सामाजिक सञ्जालका फलोअर्स, डेढ करोड आम्दानीको स्रोत पनि सञ्जाल
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहको मुख्य आम्दानीको स्रोत सामाजिक सञ्जाल देखिएको छ। आइतबार सार्वजनिक भएको सम्पत्ति विवरणमा उनको बैंकमा एक करोड ४० लाख मौज्दात रहेको र ती सबैको आम्दानीको स्रोत फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जाल रहेको उल्लेख छ।
सार्वजनिक पद धारण गरेको व्यक्तिको रूपमा सार्वजनिक गरिएको विवरणमा उनको नाममा अचल र चल सम्पत्ति रहेको देखिन्न। शाहको सम्पत्तिको मुख्य हिस्सामा पैतृक सम्पत्ति, घरजग्गा र विभिन्न सामाजिक सञ्जालहरूबाट प्राप्त आम्दानी नै देखिन्छ।
उनले सामाजिक सञ्जालका फलोअर्सहरुलाई समेत आफ्नो सम्पत्तिको रूपमा उल्लेख गरेका छन्। सम्पत्तिको विवरण खण्डमा उनले सामाजिक सञ्जालका फलोअर्स/सब्सक्राइबर सङ्ख्यालाई पनि उल्लेख गरेका छन्।
उनले सम्पत्ति विवरणमा फेसबुकका ४० लाख, युट्युबका १२ लाख र ट्विटरका ५ लाख फलोअर्सलाई आफ्नो सम्पत्तिको रूपमा उल्लेख गरेका छन्।
घर तथा जग्गा विवरण
विवरणमा प्रधानमन्त्री शाह र उनको परिवारका सदस्यको नाममा विभिन्न स्थानमा घर तथा जग्गा रहेको देखिएको छ। विवरण अनुसार ध्रुव देवी शाहको नाममा काठमाडौँ वडा नम्बर १ मा २ आना जग्गा र धनुषामा १२ बिघा जग्गा उल्लेख छ। राम नारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा रहेको उल्लेख छ।
सुन तथा गरगहना
प्रधानमन्त्रीको सम्पत्ति विवरणमा १ सय १० तोला सुन उल्लेख छ। सो सुन श्रीमतीको रहेको र यसको प्राप्तिको स्रोतमा ‘पैतृक’ (पुर्ख्यौली) जनाइएको छ।
चैत २९, २०८२ आइतबार २०:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।