जब ठट्टा गर्दा हिरासत पुगिन्छ
काठमाडौं : अहिले इन्टरनेटमा भारतीय कमेडियन समय रैनाको एक भिडियो आगो जसरी फैलिइरहेको छ। चार दिन अगाडि सार्वजनिक भएको भिडियोको शीर्षक छ “समय रैना, अझैँ जीवित छन्।”
आफ्नै युट्युबमा चार दिन अगाडि उनले सार्वजनिक गरेको करिब डेढ घण्टाको भिडियोमा उनले आफूमाथि राज्यले गरेको दुर्व्यवहार र कानुनको दुरुपयोग अनि त्यसले आफ्नो मानसिक स्वास्थ्य र करिअरमका परेको प्रभावबारे बोलेका छन्। चार दिनमा उनको भिडियो लगभग साढे चार करोड पटक हेरिइसकिएको छ।
भिडियोको लोकप्रियताको मुख्य कारण हो उनले करिब १२ सय सहभागीमाझ साझा गरेको आफ्नो अनुभव जसको कारण राज्यले उनी विरुद्ध गम्भीर अपराधीको जस्तो व्यवहार गर्यो। मुख्यमन्त्रीतहसम्मका अधिकारी उनको विपक्षमा उभिए। उनी र उनको परिवारलाई यति मानसिक तनाव दिइयो कि उनले आफ्नो इन्डियाज् गट ल्याटेन्टका सबै एपिसोडहरू डिलिट गर्न बाध्य भए।
डार्क ह्युमरका लागि चिनिने उनको यो त्रासद यात्राको प्रारम्भ उनको उही लोकप्रिय शो इन्डियाज् गट ल्याटेन्टको एक एपिसोडबाट भएको थियो। डार्क ह्युमरमा आधारित कमेडी शो युट्युबमा ल्याए लगत्तै निकै चर्चित भयो। उनले केही गेस्टहरूलाई निम्त्याउँथे अनि केही प्रतियोगी। प्रतियोगीको प्रस्तुतिका आधारमा गेस्टहरूले प्रतिक्रिया दिन्थे।
कसले कस्तो प्रतिक्रिया दिने त्यो गेस्टमा भर पर्ने कुरा भयो। कार्यक्रम पूर्ण वयस्कका हकमा मात्रै हेर्न योग्य थियो। त्यसमा प्रयोग हुने शब्दको कुनै सीमा अनि बन्देज थिएन। २०२५ को एक एपिसोडमा गेस्ट बनेर आएका रणवीर अल्लाहबादिया (जो बियरबाइसेपको उपनामले परिचित छन्) ले एक महिला प्रतिस्पर्धीलाई अत्यन्तै अश्लील र "इन्सेस्ट" (हाडनाता करणी) सँग सम्बन्धित प्रश्न सोधे।
यो भिडियो निकै भाइरल भयो। यसले देशभर एक प्रकारको आक्रोश नै फैलायो। सामाजिक सञ्जालहरूमा टार्गेटमा परे रैना। के भइरहेको छ भन्ने राम्रोसँग बुझ्न पनि नपाउँदै उनी विरुद्ध राज्यको सुरक्षा निकाय नै सक्रिय भयो। महाराष्ट्र र असम लगायतका राज्यहरूमा उनी विरुद्ध एफआईआर दर्ता भयो। उनको घरमा छापा मारियो।
त्यो बेलामा उनी कमेडी शो लिएर अमेरिका गएकाले पक्राउ भने परेनन्। यता भारतमा उनको भिडियो इडिटर पक्राउ परे। दबाब यति धेरै बढ्यो कि रैनाले आफ्नो युट्युब च्यानलबाट 'इन्डियाज गट ल्याटेन्ट' का सबै एपिसोडहरू हटाउनु पर्यो। त्यसपछि रैनाको कमेडियन यात्रा सहज भएन।
“म रातभर सुत्न सक्दैनथेँ। निन्द्रा लाग्ने औषधी खानु पर्थ्यो। ममाथि दर्शकले हैन मुख्यमन्त्रीले नै जाहेरी दर्ता गराएका थिए अनि मलाई मार्नु पर्छ भनेर प्रतिक्रियाहरू आइरहेका थिए” उनले हालैको भिडियोमा भनेका छन्।
विवादका कारण केही समय मौन रहेका समय रैनाले आफ्नो नयाँ स्ट्यान्ड-अप स्पेसल स्टिल अलाइभ सार्वजनिक गरेर 'इन्डियाज गट ल्याटेन्ट' को दोस्रो सिजन ल्याउने घोषणा गरे।
कार्यक्रमका ए गेस्ट बोलेकै आधारमा कमेडियन रैनाले भोगेको मानसिकता तनाव अनि राज्यले गरेको कानुनको दुरुपयोगबारे बहस भइरहेकै बेलामा यता नेपालमा आइतबार युट्युबर रोशन पोखरेल पक्राउ परे। प्राय समसामयिक राजनीतिबारे आफ्नै शैलीमा भिडियो बनाउँदा उनले बिचबिचमा राजनीतिक पात्रहरूले गालीगलौजमा प्रयोग हुने शब्दको प्रयोग गर्छन्।
उनले बनाएको भिडियोमा प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति यस्तै शब्दको प्रयोग गर्दै आलोचना गरेका छन्। आइतबार उनी पक्राउको कारण प्रधानमन्त्री बालेन्द्र शाहप्रति अश्लील शब्दको प्रयोगलाई देखाइयो। अनि पाँच वर्ष कैद सजाय हुनसक्ने विद्धुतिय अपराध सम्बन्धी कसुर लगाएर प्रहरी हिरासतमा राखियो। अनुसन्धानका लागि अदालतबाट १० दिनको म्याद पनि लिइयो।
प्रधानमन्त्री हुनु अगाडि बालेन्द्र र्यापर बालेनको रूपमा परिचित थिए। उनको र्याप ब्याटल लगायतका भिडियोहरू अहिले पनि सामाजिक सञ्जालमा सहजै पाइन्छ जहाँ उनले पनि सहजै पाच्य हुन नसक्ने शब्दहरू प्रयोग गरेका छन्। यस अगाडि प्रहरीले यस्तै आरोपमा युट्युबहरू पक्राउ गर्दा उनी खुलेर त्यसको विरोध गर्दै सामाजिक सञ्जालमा लेख्थे।
जब युट्युबर पक्राउ परेको समाचार सार्वजनिक भयो अनि र्यापर अनि महानगरको मेयरको पदमा रहँदा उनले सामाजिक सञ्जालमा लेखेका र उनका र्यापका क्लिपहरू सञ्जालमा घुम्न थाले। युट्युबको भिडियोमा प्रयोग गरेको शब्दकै आधारमा पक्राउ गरेर हिरासतमै राख्ने राज्यको व्यवहारसँगै बालेनको पनि आलोचना बढ्न थाल्यो। अनि उनको सचिवालयको निर्देशनमा अदालतबाट १० दिन म्याद पाए पनि प्रहरीले युट्युबरको हजुरआमा बोलाएर हाजिर जमानीमा छाड्यो।
अश्लील बोल्दैमा हिरासतै राख्ने हो त ?
नेपालमा सामाजिक सञ्जालमा बोलेको आधारमा, कुनै फिल्मको समीक्षा गरेकै आधारमा वा कमेडीकोक्रममा कुनै समुदायलाई बुझाउने शब्द प्रयोग गरेको आधारमा प्रहरी हिरासतमा पुग्नेमा पोखरेल पहिलो हैनन्। सञ्जालमा लेखेको कारण प्रहरी हिरासत पुग्नेहरूको संख्या त धेरै नै छ।
युट्युबमा राखेको भिडियोमा प्रयोग भएको शब्द वा कमेडीको क्रममा प्रयोग भएको शब्दका कारण प्रहरी हिरासत पुग्ने चर्चित युट्युबहरूमा पनि उनी पहिलो हैन। एक फिल्मको समीक्षा गर्दा प्रयोग भएको शब्दकै कारण परेको उजुरीमा युट्युबर तथा कमेडियन प्रनेश गौतम पक्राउ परेर प्रहरी हिरासतमा पुगेका थिए।
प्रहरीले प्रारम्भमा उनलाई हिरासतमै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने प्रयास गरेको थियो। तर निकै आलोचना भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पोखरेललाई जस्तै हाजिर जमानीमा रिहा गरेको थियो।
नेवार समुदायको व्यवहारबारे एक कमेडीमा प्रयोग भएका शब्दका कारण अर्का कमेडियन अपूर्व क्षितिज पक्राउ परेर लामै समय प्रहरी हिरासतमा बस्नु परेको थियो। उनलाई जिल्ला अदालतले १० हजार जरिवाना समेत तिरायो यो घटनामा। यो समयमा पनि उनको पक्राउको विरोध भएको थियो।
तर एक समुदायको भावनामा चोट पूर्याएको भन्दै जाहेरी परेपछि प्रहरीले साइबर अपराधमा पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धानप्रति धेरैको असहमति देखिएको थिएन। तर अनुसन्धान सुरु नगरी सिधै पक्राउ गरेर हिरासतमा राख्ने प्रवृत्तिको तिखो आलोचना भएको थियो।
यी घटनाहरूसँगै अश्लील शब्द प्रयोगकै आधारमा कसैलाई पक्राउ गरेर हिरासतमा राख्नुपर्ने विषयमा कानुनी र नैतिक दुवै कोणबाट बहस सुरु भयो। अहिले पनि त्यो बहस जारी छ। यसलाई "अभिव्यक्ति स्वतन्त्रता" र "सार्वजनिक नैतिकता" दुवै पक्षबाट बहस हुने गरेका छन्। सार्वजनिक नैतिकताको आधारमा अनुसन्धान गर्नुलाई अनुचित नभनिए पनि पक्राउ गरेर हिरासतमै राख्ने राज्यको प्रवृत्तिको भने तिखो आलोचना हुने गरेको छ। आइतबार पनि यस्तै भयो।
स्वतन्त्रता र नैतिकताको सीमा
नेपालको सन्दर्भमा मुलुकी अपराध संहिता, २०७४ ले अश्लीलतालाई सम्बोधन गरेको छ। यसले अश्लील सामग्रीको प्रसार, बिक्री वा प्रदर्शनलाई निषेध गरेको छ। सार्वजनिक स्थानमा अश्लील काम गर्ने वा अश्लील शब्द बोल्ने व्यक्तिलाई सजायको व्यवस्था छ।
यसका व्यवस्था हेर्ने हो भने कि श्लील हुने अनि के अश्लील हुने भन्ने प्रस्ट व्याख्या छैन। अनुकूल व्याख्याको अधिकार कानुन कार्यान्वयन गर्नेमा देखिन्छ। तर यो प्रावधान अनुसार कसैमाथि अनुसन्धान गर्ने हो भने सिधै समातेर जेल हाल भन्दैन।
अर्को छ साइबर अपराध। प्राय यस्ता घटनामा मुलुकी अपराध संहिता हैन साइबर अपराधको प्रयोग गरिन्छ। यसमा राखिएको सजाय पाँच वर्षसम्मको छ। यसको आधारमा भने प्रहरीले सिधै समातेर हिरासतमा राख्ने र अनुसन्धान गर्ने गर्दै आएको छ।
कानुनी रूपमा, यदि कसैको अभिव्यक्तिले प्रचलित कानुनको उल्लंघन गर्छ भने प्रहरीले अनुसन्धानका लागि हिरासतमा राख्न पाउने अधिकार छ पनि। तर यो अधिकारको प्रयोग सबै घटनामा उपर्युक्त देखिन्न। यसले नै मुख्य रूपमा विवाद जन्माउने गरेको छ।
यदि प्रयोग भएका शब्दहरूले कुनै व्यक्तिको मानहानि गर्छ, हिंसा भड्काउँछन् वा बालबालिकाको मनोविज्ञानमा गम्भीर असर पार्छन् भने राज्यले हस्तक्षेप गर्न सक्छ। अनुसन्धान जटिल भएको अवस्थामा प्रमाण संकलन गर्न वा अभियुक्त भाग्न सक्ने सम्भावना भएमा हिरासतमा राख्ने गरिन्छ।
तर यस्तो घटनामा मुख्य प्रमाण नै भिडियो हुने र त्यो तत्काल नष्ट गरिहाल्ने सम्भावना देखिन्न। यस्तोमा प्रहरीले अनुसन्धान गर्ने अनि अनुसन्धानमा कानुन उलङ्घन भएको देखिएको अवस्थामा आरोपीलाई अभियोग पत्रसँगै अदालतमा बुझाउने गर्न सक्छ। तर प्राय घटनामा पहिल्यै पक्राउ गर्छन्। अनि विवाद सुरु हुन्छ।
यस्तोमा लोकतन्त्रमा नागरिकलाई बोल्ने स्वतन्त्रता हुने र गाली वा अश्लील शब्द बोल्दैमा सिधै जेल हाल्नु अतिवादी कदम को रूपमा व्याख्या हुने गरेको छ। उजुरी परे लगत्तै अनुसन्धान नगरी सिधै पक्राउ र हिरासतलाई शक्ति दुरुपयोगको रूपमा समेत लिने गरिन्छ।
केही अवस्थामा सत्ता वा शक्तिमा रहेका व्यक्तिलाई आलोचना गर्दा 'अश्लीलता' को आरोप लगाएर पक्राउ गर्ने प्रवृत्ति समेत देखिन्छ, जुन अभिव्यक्ति दबाउने हतियार समेत बन्ने गरेको छ।
समस्या ‘अश्लील’ के हो भन्ने व्यक्ति, समाज र समय अनुसार फरक हुने र स्पष्ट परिभाषा नहुँदा प्रहरीले आफ्नो तजबिजमा पक्राउ गर्दा न्याय मर्ने जोखिम पनि हो।
यस्तो अवस्थामा अश्लील शब्द प्रयोग गरेकै भरमा पक्राउ गरेर हिरासतमा राखिहाल्ने भन्दा जरिवाना वा सामाजिक सचेतनाको माध्यम अपनाएर हिरासतलाई अन्तिम विकल्पको रूपमा प्रयोग गर्ने गर्न सकिन्छ।
जबसम्म प्रयोग भएका शब्दले कसैलाई शारीरिक वा मानसिक रूपमा गम्भीर हानि पुर्याउदैन तबसम्म यसलाई 'अभिव्यक्ति' कै रूपमा लिन सक्ने हो भने पनि अधिकारको दुरुपयोगको आरोप कम लाग्न सक्छन्।
अश्लील शब्द प्रयोग गर्नु सामाजिक रूपमा ‘अशोभनीय’ हो, तर यो सधैँ ‘अपराध’ नहुन सक्छ। सामान्य गालीगलौज वा शब्दकै आधारमा कसैको व्यक्तिगत स्वतन्त्रता खोसेर हिरासतमा राख्नु धेरै हदसम्म अनुचित र कठोर मानिन्छ। यस्ता विषयमा हिरासत भन्दा पनि जरिवाना, चेतावनी वा काउन्सिलिङ बढी प्रभावकारी हुन सक्छ। तर प्राय यस्तो घटनामा प्रहरी सिधै अन्तिम विकल्पमा प्रयोग हुने पक्राउ र हिरासततिर लाग्दा अनुसन्धानयोग्य विषय पनि विवादित हुने गरेको छ।
धन्न, नेपालको हकमा रोशनले उता समय रैना वा नेपालकै अपूर्वको जस्तो जटिल कानुनी प्रक्रिया भोग्नु परेन। उनले अनुसन्धानबाट मुक्ति त पाएका छैनन् तर हिरासत बाहिरै बसेर आफ्नो पक्षमा धारणा राख्ने कानुनी अधिकार भने पाए। बोलेकै आधारमा हिरासत बस्नबाट जोगिए।
चैत २९, २०८२ आइतबार १९:५६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।