१३ वर्षका किशोर प्रत्युषको प्रधानमन्त्री बालेन्द्रलाई पत्र : कपाल पाल्दैमा केटाहरू बिग्रन्छन् र ?

१३ वर्षका किशोर प्रत्युषको प्रधानमन्त्री बालेन्द्रलाई पत्र : कपाल पाल्दैमा केटाहरू बिग्रन्छन् र ?

प्रत्युष कडेल

प्रधानमन्त्रीज्यू नमस्कार, 

तपाईँको बुबाको निधनअघि तपाईँले कपाल पाल्नु हुन्थ्यो। यो देख्दा निकै खुसी थिएँ। तपाईँ काठमाडौँ महानगरपालिकाको मेयर हुँदा नै विद्यालयहरूले जबरजस्ती कपाल काट्न निषेध गर्नु भएको थियो। कपाल पाल्न इच्छा हुनेले कपाल पाल्ने, कपाल पाल्न इच्छा नहुनेले नपाल्ने नियम थियो। तर यो नियम कार्यान्वयन भएन। छात्राहरूलाई दुई चुल्ठी बाट्दै पर्ने, केटाहरूले कपाल सिनित्त पारेर काट्नै पर्ने नियम प्राय: सबै स्कुलमा अहिले पनि छ।

नैतिकता ,सभ्यता र अनुशासनको नाममा  कपाल काटिएको छ। के कपाल पाल्दैमा अराजक, असभ्य अनि ‘मिसविहेभड’ भइने हो र ? नैतिकवान्, अनुशासित र सभ्य राम्रो व्यवहारबाट भइन्छ की कपाल पालेर वा काटेर?

व्यक्तिको स्वभाव अनुसार आफ्नो लुक्स कस्तो देखिने आफैँ निर्धारण गर्ने हो। केही केटीहरूले कपाल काट्छन्,  केही केटाहरूले पालेको मन पर्छ । केटाहरूले अगाडि अलि लामो कपाल राख्यो की सबै साथीहरूको अघि काटिदिने चलन छ। यसरी हाम्रो इच्छा विपरीत जबरजस्ती कपाल काट्दा हामीलाई ‘ह्युमिलेट’ महसुस भएको छ। त्यति मात्रै होइन ‘ह्यारेसमेन्ट’ नै फिल हुन्छ। जबरजस्ती कपाल काटिदिँदा हामी विद्यार्थीको मौलिक हक हनन हुन्न?

आफूले चाहेको लुक्स अनुसार देखिन पाउँदा हामीमा आत्मविश्वास  र ‘सेल्फ इस्टिम’ बढ्छ। तर जथाभाबी कपाल काट्न पाइन्छ?, यो सही हो र! 

विद्यालयमा पढाइ सिक्न जाने हो। सबैलाई राम्रो व्यवहारबारे बुझ्न जाने हो। तर कपाल पाल्दैमा गाली गर्ने, सिंगल आउट गरी मानसिक तथा शारीरिक सजाय  र फोर्सफुल्ली  कपाल काट्ने गरेको देखिन्छ। यसले धेरैमा नकारात्मक असर परेको छ। कपाल पाल्नु भनेको गर्नै नहुने काम जस्तो व्यवहार भोग्नु परेको छ। यसले विद्यार्थीको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको छ। यस्तो चलन अझै पनि विद्यालयहरूमा छ? किन?

प्रधानमन्त्री ज्यू,

परीक्षाको नतिजा लिन जाँदा म अध्ययनरत विद्यालयमा सबैलाई अब स्कुल आउँदा कपाल काटेर आउन भनियो। पहिला कपाल काट्न अनिवार्य थिएन। मलाई कपाल पाल्न रहर लाग्छ। पालिरहेको छु। यो समस्या म पढिरहेको विद्यालयमा मात्र हैन, अन्त पनि छ। 

कपाल पाल्नुको अर्थ बिग्रनु हैन। यो त सेल्फ एक्सप्रेसन ,सेल्फ इस्टिम र सेल्फ कन्फिडेन्सको कुरा त हो नै आफ्नो लुक्स देखाउन स्वतन्त्र हुनु पनि हो। विद्यालयमा कपाल पाल्न नदिने, पालेमा सजाय दिने विकृति अन्त्य गर्नु पर्यो। यदि यो  कार्यान्वयन नगरेर इच्छा विपरीत कपाल काटिदिने विद्यालयहरूलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्यो।

बृहस्पति विद्या सदन 

कक्षा ९

चैत २९, २०८२ आइतबार १८:३९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।