प्रधानमन्त्री बालेन्द्रको स्क्रिनसट सञ्जालमा घुम्न थालेपछि छुटे यूट्युवर, खोजेको बेलामा आउने सर्त
काठमाडौं : प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूप्रति अपमानजनक र गालीगलौज भएको भिडियो राखेको आरोपमा पक्राउ परेका पाँचथरको फाल्गुननन्द गाउँपालिका–७ घर भएका युट्युब रोशन पोखरेललाई प्रहरीले हजुरआमाको जिम्मा लगाउँदै हाजिर जमानीमा छाडेको छ।
पाँचथर प्रहरीले पक्राउ गरेर अदालतबाट १० दिन हिरासतमा राख्ने म्याद लिएको सार्वजनिक भएसँगै प्रधानमन्त्री हुनु अगाडि बालेन्द्रले सामाजिक सञ्जालमा लेखेका स्क्रिनसटहरु सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि उनी रिहा भए। स्रोतका अनुसार प्रधानमन्त्री बालेन्द्रको सचिवालयले नै प्रहरीलाई हिरासतमा नराख्न निर्देशन दिएपछि उनी हाजिर जमानीमा छुटेका हुन्।
हाजिर जमानीमा छुटे पनि उनीमाथिको मुद्दा भने कायमै रहनेछ। अनुसन्धान प्रक्रियामा उनी हिरासतमा बस्न नपर्ने भएको मात्र हो। बयान लगायतका कामका लागि प्रहरीले बोलाएको अवस्थामा उनी हाजिर हुनुपर्छ।
‘Hades’ नामक युट्युब च्यानल चलाउँदै आएका पोखरेलले भिडियोमा आफ्नै शैलीले राजनीतिक टिप्पणी गर्ने गरेका थिए। उनको भिडियोमा पूर्व प्रधानमन्त्री केपी ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अनि बालेन्द्र शाहबारे प्रतिक्रिया दिएको देखिन्छ।
उनले भिडियोमा आलोचना गर्नेक्रममा अश्लील र अपाच्य शब्दको प्रयोग गरेका थिए। उनी कुन भिडियोका कारण समातिएका हुन् भन्ने खुलेको छैन। उनको युट्युबमा सबैभन्दा ताजा भिडियो एक महिना अगाडिको छ जहाँ उनले जेनजी आन्दोलनबारे आफ्नो धारणा राखेका छन्।
चैत २९, २०८२ आइतबार १८:०७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।