चीनले इरानलाई हतियार दिए 'ठूलो समस्या' भोग्नुपर्ने ट्रम्पको चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई इरानसँगको सैन्य साझेदारी र हतियार आपूर्तिका विषयमा कडा चेतावनी दिएका छन्।
चीनले आगामी केही हप्ताभित्र इरानलाई नयाँ हवाई रक्षा प्रणाली उपलब्ध गराउने तयारी गरिरहेको रिपोर्टहरू सार्वजनिक भएका थिए।
यसबारे अमेरिकी समाचार संस्था सिएनएनले सोधेको प्रश्नमा ट्रम्पले भने, "यदि चीनले इरानलाई हतियार सहयोग गर्छ भने, उसले ठूलो समस्या भोग्नुपर्नेछ।"
यद्यपि, ती समस्याहरू के-कस्ता हुनेछन् भन्नेबारे उनले विस्तृत जानकारी दिएका छैनन्।
अमेरिका र इजराइलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त आक्रमण गरेका थिए। केही दिन अघि अमेरिका र इरानबिच दुई साताका लागि युद्धविराम गर्ने सहमति भएको थियो।
मध्यपूर्वमा चर्किँदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको मध्यस्थतामा सुरु भएको इरान र संयुक्त राज्य अमेरिकाबीचको लामो वार्ता निष्कर्षविहीन टुङ्गिएको छ। २१ घण्टासम्म चलेको म्याराथन छलफलपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइतबार वार्ता निष्कर्षविहीन बनेको जानकारी दिए।
इरानले पनि अमेरिकाले ज्यादै कडा र अव्यावहारिक माग राखेको दाबी गरेको छ।
यो सँगै कूटनीतिक प्रयासहरू जारी रहे पनि आपसी अविश्वास र रणनीतिक मतभेदका कारण तत्काल समाधानको सम्भावना कमजोर देखिएको छ।
चैत २९, २०८२ आइतबार १६:२३:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।