प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा यूट्युवर पक्राउ, पहिलो पटक नै १० दिन म्याद थप

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा यूट्युवर पक्राउ, पहिलो पटक नै १० दिन म्याद थप

काठमाडौं :  युट्युबमा प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूप्रति अपमानजनक र गालीगलौज भएको भिडियो राखेको आरोपमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युब रोशन पोखरेल पक्राउ परे। ‘Hades’ नामक युट्युवर च्यानलमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आएका उनी आइतबार पक्राउ परेका हुन्।

उनीमाथि नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो। उनी विरुद्ध पीडित पक्ष प्रधानमन्त्री बालेन्द्रसहित कसैले उजुरी दिएर पक्राउ गरिएको हो या साइबर ब्यूरोको स्वयम् अनुगमनका आधारमा पक्राउ गरिएको त्यो भने खुलेको छैन।

उनले समसामयिक राजनीतिक विषयमा आफ्नै शैलीमा धारणाहरु राखेर भिडियो बनाउने गरेका थिए। कार्यक्रम सञ्चालकको रुपमा रवि लामिछानेको कामको आलोचनासँगै उनले बालेन्द्रको काम गर्ने शैलीको आफ्नै शैलीमा आलोचना गरेको देखिन्छ। भिडियोमा उनले अपशब्दहरुलाई सामान्य शब्दझैँ प्रयोग गर्ने गरेको उनको युट्युबमा रहेको भिडियोबाट देखिन्छ।

उनी कुन भिडियोको कारण पक्राउ परेका हुन् त्यो समेत खुलेको छैन। उनको युट्युवमा सबैभन्दा ताजा भिडियो एक महिना अगाडिको छ जहाँ उनले जेनजी आन्दोलनबारे आफ्नो धारणा राखेका छन्। उनलाई पक्राउ गरेर अदालतबाट १० दिनको म्याद लिएको पाँचथर प्रहरीले जानकारी दिएको छ।

चैत २९, २०८२ आइतबार १५:५४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।