थाइल्याण्डबाट ल्याएको ७ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ
काठमाडौं : थाइल्याण्डबाट अवैध रूपमा लागु औषध गाँजा ल्याउने दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई ७ किलो गाँजासहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहसिन सलाउद्दीन खान र ३१ वर्षीय मोहम्मद राहिल मोहम्मद ताहिर गङ्गु रहेका छन्।
खान चैत २८ गते फ्लाई दुबईको उडान मार्फत बैंककबाट दुबई हुँदै काठमाडौं आएका थिए भने मोहम्मद चैत २६ गते मलेसिया एयरलाइन्स मार्फत बैंककबाट क्वालालम्पुर हुँदै काठमाडौं आएर होटलमा बसिरहेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको ब्यूरोको टोलीले प्रोफाइलिङ गर्ने क्रममा शंका लागेपछि मोहसिन सलाउद्दीन खानलाई निगरानी गरेको थियो । उनी विमानस्थलबाट काठमाडौंस्थित एक होटलमा प्रवेश गरेपछि प्रहरीले छापा मारेको थियो।
होटलको कोठामा खान र पहिलेदेखि नै बसिरहेका गङ्गु दुवैलाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूले बोकेका दुई वटा झोला भित्रबाट ७ किलो लागु औषध गाँजा बरामद भएको हो।
पक्राउ परेका दुवै अभियुक्तहरू विरुद्ध लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागु औषध नियन्त्रण व्यूरोका सह-प्रवक्ता प्रहरी नायव उपरीक्षक जीवन निरौलाले जानकारी दिए।
चैत २९, २०८२ आइतबार १५:४९:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।