लुम्बिनीबाट सुरु भयो सुधारिएको चुल्हो वितरण अभियान
काठमाडौं : नेपाल ट्रेजर कार्बनले कार्बन उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यका साथ लुम्बिनी प्रदेशबाट ‘सुधारिएको चुल्हो’ वितरण अभियान सुरु गरेको छ। संस्थाले देशभरका ५ लाख ग्रामीण घरधुरीमा चुल्हो पुर्याउने लक्ष्य राखेको छ।
शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का ५० परिवारलाई चुल्हो हस्तान्तरण गर्दै अभियानको थालनी गरिएको हो। पहिलो चरणमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक उपप्रमुख कल्पना हरिजन र नेपाल ट्रेजर कार्बनका अध्यक्ष निकेस अधिकारीले संयुक्त रूपमा चुल्हो वितरण गरे।
संस्थाकी सञ्चार संयोजक सुलोचना खतिवडाका अनुसार, एक साताभित्र यस क्षेत्रका २ हजार ७५५ परिवारलाई चुल्हो वितरण गरिनेछ। अभियानले पाल्हीनन्दन, रामग्रामसहित लुम्बिनी प्रदेशका २४ वटा पालिकाका ग्रामीण क्षेत्रलाई समेट्ने लक्ष्य राखेको छ।
यस्तै, रुपन्देहीको सिद्धार्थनगर नगरपालिकासँग पनि ६ महिनाभित्र चुल्हो वितरण गर्ने सम्झौता भइसकेको प्रबन्ध निर्देशक समीक्षा बरालले जानकारी दिइन्।
अध्यक्ष अधिकारीका अनुसार सुधारिएको चुल्होको प्रयोगले घरभित्रको धुवाँ प्रदूषण घटाई महिला र बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा लिइएको छ। साथै, यसले दाउराको खपत घटाउनुका साथै कार्बन उत्सर्जन कम गरी जलवायु संरक्षणमा समेत टेवा पुर्याउनेछ।
निजी क्षेत्रको कार्बन अर्थतन्त्र प्लेटफर्म ‘नेपाल ट्रेजर कार्बन’ ललितपुरको खुमलटारस्थित ‘द प्रमिस्ड ग्रुप’ अन्तर्गत सञ्चालित छ। यस संस्थाले सन् २०२२ देखि लुम्बिनीमा विश्व शान्ति कार्यक्रम समेत आयोजना गर्दै आएको छ।
चैत २९, २०८२ आइतबार १५:२५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।